२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रेस क्लबले ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने 

बुधवार , फाल्गुण १९, २०७७

भैरहवा, १९ फागुन । 
लुम्बिनी प्रेस क्लब रुपन्देहीले पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्रदान गर्नका लागि मुल्यांकन समितिको बैठक प्रथम चरणमा बसेको छ । अग्रज पत्रकार तथा क्लबका सल्लाहकार नारायण प्रसाद सापकोटाले आफ्नी आमाको सम्झनामा स्थापना गरेको भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी क्षेत्रमा रहेर पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई प्रदान गर्नका लागि विभिन्न मापदण्ड बनाई ५० हजार राशीको पुरस्कार प्रदान गरिने मुल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए । 

क्लबले कुलमणि ज्ञवालीको संयोजकत्वमा, पुरस्कार संस्थापक नारायण प्रसाद सापकोटा र कार्यसमिति सदस्य शशि पन्थीको प्रथम बैठकबाट पर्यटन विज्ञलाई समेत बैठकको सदस्य पदमा मनोनित गरी मुल्यांकनका चरणहरु सुरु गर्न पत्राचार गरेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले बताए । जसअनुसार समितिको प्रथम बैठकले मुल्यांकन समितिमा २ जना सदस्यहरु पर्यटन विज्ञका रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक प्रा.डा. गितु गिरी र पर्यटन कार्यालय भैरहवाका प्रमुखलाई मनोनित गरी ५ सदस्यीय मुल्यांकन समितिको बैठक आवश्यकता बमोजिम बस्ने मुल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए । 

भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ छनौटका लागि यस क्षेत्रका पत्रकारहरुलाई आह्वान गर्ने र पुरस्कार छनौटका लागि लुम्बिनी प्रेस क्लब रुपन्देही भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७५ नियमावलीमा उल्लेख भएको व्यवस्था अनुसार गर्ने मुल्यांकन समितिका सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले बताए । 

पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि मुल्यांकन समितिले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, गोटिहवा, कुदान लगायत लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन हुने विषयवस्तु हुनुपर्ने छ । लेख, रचना, फिचर, रिर्पोटिङहरु खोज अनुसन्धानमुलक हुनुपर्ने मुल्यांकन समितिले निर्णय गरेको छ । त्यसै गरी कला, संस्कृति झल्किने, नयाँ पर्यटकीय गन्तव्य पहिचान हुने ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व बोकेका विषयवस्तु समेटेर प्रकाशन प्रशारण भएका ५।५ वटा लेख, रचना, फिचर वा रिर्पोटिङलाई मुल्यांकनमा समावेश गरिने पुरस्कार संस्थापक तथा लुम्बिनी प्रेस क्लवका सल्लाहकार नारायण प्रसाद सापकोटाले बताए । 

पूर्वजहरुको स्मृतिमा यस्तै किसिमका पुरस्कारहरु अन्य व्यक्तिहरुले पनि स्थापना गरेमा पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने सापकोटाले बताए । 

मुल्यांकन समितिले विवादित विषयवस्तु, आक्षेप लगाएका विषयवस्तु मुल्यांकनमा पारित नगर्ने, २०७७ कार्तिक १ गते देखि २०७८ भदौ १५ गते सम्म प्रकाशन तथा प्रसारण भएका विषयवस्तुलाई मात्र मुल्यांकनमा समावेश गरिने निर्णय गरिएको, अन्य कुराहरु भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार नियमावली २०७५ अनुसार हुने मुल्यांकन समितिका सदस्य शशि पन्थीले बताए । 

भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी प्रेस क्लबको आयोजनामा प्रत्येक वर्ष असोज २२ गते कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश के.सी.ले बताए । हालसम्म यो पुरस्कार पुरस्कार कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश व्युरो प्रमुख दिपेन्द्र बडुवालले पाइसकेका छन् ।