
बुधवार , भाद्र ५, २०८१
भैरहवा, ५ भदौ ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले सिद्धार्थनगर नगरपालिकामा भुइँ क्षेत्रको अनुपात (फ्लोर एरिया रेसियो) को मापदण्ड परिमार्जन आवश्यक रहेको बताएको छ । बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापालाई निवेदन बुुझाउँदै सञ्जालले यस्तो बताएको हो ।
सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले नगर क्षेत्रभित्र निर्माण कार्य गर्दा हालसम्म नगरपालिकाले निर्धारण गरिआएको भुइँ क्षेत्रको अनुपात (फ्लोर एरिया रेसियो) को मापदण्ड परिमार्जन आवश्यक देखिएको बताए ।
उनले भने, ‘शहरी विकास मन्त्रालयको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मापदण्ड २०७२ को दफा १३.१२ को उपदफा १ ले स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकारभित्र मादण्ड स्वीकृत गरी लागू दर्ता तोकिदिएको प्राविधिक समितिको सिफारिसमा फ्लोर एरिया रेसियो (एफएआर) कायम गर्न सकिनेछ भन्ने उल्लेख गरेको छ । ’
त्यस्तै सोही दफाको ख मा हाल नेपाल सरकारले स्वीकृति प्राप्त गरी मापदण्ड लागू गरिरहेका स्थानीय निकाय र विकास प्राधिकरणले सोही मापदण्ड बमोजिम एफएआर कायम गर्न सक्नेछन् भनेको अध्यक्ष ज्ञवालीले बताए । यसको आधारमा सिद्धार्थनगर नगरपालिकाको भवन तथा योजना मापदण्डको दफा २.१.२ को तालिका २ ले होटल, लज तथा पाहुना घरको एफएआर १.५ र कभर एरिया ४० प्रतिशत तय गरेको उनले बताए ।
‘नगर क्षेत्रमा ठूला र व्यवसायिक प्रयोजनका भवन एवं होटल मोटल निर्माणका लागि जमिन कम हुँदै जाँदा स्थानीय तहहरुले आफूले प्राप्त गरेको अधिकार प्रयोग गर्दै एफएआरमा परिमार्जन गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले वि.सं. २०८० मा एफएआरमा ३.५ र ग्राउण्ड कभरेज एरिया ४० प्रतिशत रहने गरी परिमार्जन गरेको छ । त्यस्तै भरतपुर महानगरपालिकाले पनि भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड वर्ष २०८० मै परिमार्जन गर्दै एफएआर मापदण्ड परिवर्तन गर्दै ३.५ नै निर्धारण गरेको छ, ’ज्ञवालीले भने ।
यी नजिरहरुलाई समेत विशेष ध्यान दिदै नगर क्षेत्रभित्र पर्ने संहितामा सिद्धार्थनगर नगरपालिकाले पनि एफएआर कम्तीमा ३ र कभर एरिया ५० प्रतिशत पुर्याएर नगरभित्र ठूला र अग्ला भवन एवं होटलका लगानीकर्ता तथा उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने नीति तय गर्नुपर्ने निवेदनमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij