शनिवार , कार्तिक १, २०८३
भैरहवा, ३१ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान अवस्थामा नेकपा (एमाले) सँग सहकार्य गरी सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले यससम्बन्धी कुनै नीति नलिइएको र कसैसँग कुनै समझदारीसमेत नभएको जनाउँदै तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको बताउनुभएको छ ।
अध्यक्ष यादवले बेग्लै प्रसंगमा खिचिएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा गलत र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले केही व्यक्तिले फेसबुक तथा अन्य सामाजिक सञ्जालको दुरुपयोग गर्दै कपोलकल्पित र पूर्वाग्रहपूर्ण सामग्री फैलाएको भन्दै आश्चर्य र दुःख व्यक्त गर्नुभएको छ ।
पार्टीको एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने विषयमा कुनै सत्यता नरहेको उल्लेख गर्दै यादवले यस्ता झुटा तथा भ्रामक प्रचारमा विश्वास नगर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
हिजो शुक्रबार मात्रै एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij