
आइतवार , भाद्र ९, २०८१
दाङ, ९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् । एनआरएन एनसीसी अमिरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताए । उनले स्वदेशी तथा विदेशी दातृ निकायहरुलाइ ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
‘सरकारले लगानीको वातावरण बनाउँछ । यहाँहरुले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ । उनले भने, ‘लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्वपूर्ण छ । लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाइ आकर्षित गर्दछ । यहाँको समग्र प्रचारप्रसारको लागि कार्यक्रम बनाउछौं ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिनभित्र प्राप्त हुने उनले जानकारी दिए । ‘संघीय सरकारसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने बारेमा सकारात्मक पहल भएको छ । विदेशबाट आउने पर्यटकलाइ लुम्बिनीमा मात्रै सीमित नगरी प्रदेशका सबै जिल्लामा पुर्याउन सकिन्छ । उनले भने, ‘पर्यटनलाई हरेक क्षेत्रसँग जोड्न सकिन्छ । यसमा सरकारले ध्यान दिन्छ ।’
त्यस्तै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको बताए । उनले वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्वसामु पुर्याउने प्रतिवद्धता व्यक्त गरे । ‘लुम्बिनीका पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारको कमी छ । विश्व बजारमा यसको प्रचारप्रसारलाई व्यापक बनाउन जरुरी छ । उनले भने, ‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न जरुरी छ । १२ जिल्लामा घुम्नका लागि पर्यटनलाई आकर्षित गर्न जरुरी छ । धेरै दिन अडिन सक्ने वातावरण निर्माण गर्नुपर्नेछ । ’ लुम्बिनीको समग्र पर्यटकीय सर्किटलाई पर्यटक माझ पुर्याउने बारेमा सरकारले योजना बनाउने उनले बताए ।
रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको बताए । ‘देवदह साँस्कृतिक र सम्पदाको हिसाबले महत्वपूर्ण हो । तर, यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं । साँस्कृतिक र ऐतिहासिक रुपमा महत्वपूर्ण छ । नेपाल सरकारले ध्यान दिएन । देवदह नगरपालिकाले खयर डाँडाको उत्खनन गरेका छौ । इनार भेटिएको छ । भवनका भगनावेश भेटिएका छन् । उनले भने–यहाँ देवदह छ । तर, यसको विकास हुन सकेको छैन । रोहिणी नदि छ । नदीको बारेमा संरक्षणमा सोच्न सकिएको छैन । यसलाई पर्यटन नगरको रुपमा विकास गर्न चाहन्छौं । लगानीको खाँचो छ ।’
लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले लुम्बिनीलाई पर्यटकीय हबको रुपमा विकास गर्न धेरै सम्भावना रहेको र त्यसका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने बताए । ‘लुम्बिनीको माटो, पानी विश्वभर प्रसादको रुपमा जान सक्छ । लुम्बिनीको हावा, पानी, जातीय, साँस्कृतिक, धार्मिक विविधता बरदान हो । उनले भने, ‘आर्थिक, सामाजिक रुपान्तरणको लागि पर्यटनलाई प्राथमिकता राख्नुपर्छ ।’ बुद्ध परिपथ क्षेत्रको विकासबाट समग्र लुम्बिनीको विकास गर्न सकिने आधार रहेको उनले स्पष्ट पारे ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइँ लम्ब्याउने गरी सरकारी र निजी क्षेत्रबाट योजना बनाउनुपर्ने, लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाई सँगै लग्नुपर्ने बारेमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij