
आइतवार , भाद्र ९, २०८१
बुटवल, ९ भदौ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार ११ वटा उपमहानगरपालिकामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर उपमहानगरपालिकाहरु मध्येबाट पहिलो भएको हो।
आर्थिक वर्ष २०७९/०८० मा बुटवल पहिलो हुँदा हेटौंडा उपमहानगरपालिका ८६ दशमलव ५० अंकसहित दोस्रो र घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेस्रो बनेको छ ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा उपमहानगरहरुमा गरिएको मूल्यांकनमा बुटवल पहिलो भएको छ ।
त्यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ । ७९ दशमलव २५ अंकसहित इटहरी उपमहानगरपालिका छैंठौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौं स्थानमा रहेको छ ।
आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ ।
त्यस्तै दशौं स्थानमा जितपुर सिमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानगरपालिकाको देखिएको छ । जनकपुरले ५९ दशलमव ५० अंक पाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij