२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटिकदेखि फास्टफूड व्यवसायसम्म एक्लै हाक्छिन् निशा

बिहिवार , भाद्र १३, २०८१

भैरहवा, १२ भदौ । निशा पुर्जा मगर एक महिला उद्यमी हुन् । उनी सफल उद्यमीका साथै व्यवसायीको रुपमा चिनिन थालेकी छन् । रुपन्देहीको तिलोत्तमामा जन्मिएकी निशाले लामो समयको भारत बसाईपछि अहिले त्यही तिलोत्तमालाई कर्मथलो बनाएर आफ्नो कर्म अगाडि बढाएकी छन् ।

तिलोत्तमा–१५ स्थित कोटिहवामा उनको रिजोईस बुटिक तथा ड्रेस डिजाईनर्स पसल सञ्चालनमा छ । त्यही बुटिक पसलबाट उनले ड्रेस डिजाईनर्सको काम गरिरहेकी छन् । उनले विगत २ वर्षदेखि आफ्नो पसल सञ्चालन गर्दै आएकी छन् । ड्रेस डिजाईनर्स बन्नु अगाडिका अनेकौं समस्या, दुःख र पीडालाई झेल्दै उनी अहिले एउटा सफल डे«स डिजाईनर्स बनेकी छन् ।

उनले अहिले त्यही पसलबाट उद्यमी बन्ने चाहने महिला दिदीबहिनीहरुलाई डे«स डिजाईनर्स बनाउने लक्ष्य लिएर सिकाउँदै आएकी छन् ।

निशाको बाल्यकाल र विगत

निशाको बाल्यकाल र विगत निकै चुनाैतीपूर्ण छ । उनको जन्म रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा भएको थियो । निशाले कक्षा ५ सम्मको अध्ययन कोटिहवाको सिद्धार्थ ग्यालेक्सी स्कूलबाट गरेकी थिइन् । सिद्धार्थ ग्यालेक्सीमा उनको पढाई राम्रैसँगै चलेको थियो ।

२०५८ सालमा भएको राजदरबार हत्याकाण्ड पश्चात नेपालको अवस्था बिग्रदै गयो । त्यसपछि देशमा माओवादीले युद्ध सुरु भयो । विद्यालयहरु लामो समय बन्द भए । माओवादी आन्दोलनका कारण विद्यालयहरु बन्द हुँदा उनको पढाई लगायतको अवस्था पनि बिग्रदै गयो ।

निशाका बुवा भारतमा सरकारी कार्यालयमा जागिरे थिए । बुवाको बसाई दिल्लीमा थियो । नेपालमा बन्द हड्ताल हुन लागेपछि बुवालाई घरपरिवारको पीरले सताउन थाल्यो । ‘हाम्रो पढाईमा असर पर्छ भन्ने डरले बुवाले मम्मी, बाजे, भाई र मलाई उतै (भारतमा) बसाउने र पढाउने गरी लैजानुभयो । उनले भनिन्, ‘आफु जन्मिएको ठाउँ, पढेको विद्यालय, आफ्ना साथीभाई छाडेर जाँदा निकै नरमाइलो लागेको थियो । आफ्नो जन्मभूमि (देश), आफूले पढेको विद्यालय, साथीभाई छाडेर जान बाध्य भएपछि बुवाको काखमा बसेर चिच्याईचिच्याई रुँदै आफू जन्मिएका ठाउँका कुरा सम्झदै दिल्ली पुगे, ’उनले भनिन् ।

‘दिल्ली पुगेपछि बुवाले भाइ र मलाई स्कूल भर्ना गरिदिनुभयो । अकार्को ठाउँ, फरक भाषा, सुरुको एक वर्ष मेरा लागि निकै कठिन भयो । त्यहाँका साथीहरुले हामी नेपालीलाई गर्ने व्यवहारले सारै मन दुख्थ्यो । तर, हामीलाई बाध्यता थियो । दिल्लीकै परिवेशमा ढलेर अगाडि बढ्दा पहिलो एक वर्ष मलाई निकै कठिन भयो । त्यो वर्ष म विद्यालयमा फेल पनि भए । त्यसपछि भने पढाईमा सुधार हुँदै गयो, ’उनले खबरपात्रोसँग भनिन् । 

उनले कक्षा ११ र १२ मा मानविकी संकायमा अध्ययन गरिन् । सानो हुँदा एअर होस्टेज पढ्ने निधो गरेकी उनले पढ्दै जाँदा उच्च शिक्षा हासिल गर्ने बेला ड्रेस डिजाइनर्स पढ्ने निधो गरिन ।

उनले नयाँ दिल्लीको वाई.एम.सी.ए कलेजबाट फेशन डिजाईनमा स्नातक तहको अध्ययन गरेकी छन् । ड्रेस डिजाईनको अध्ययनपश्चात उनलाई प्रयोगात्मक कक्षाका लागि कलेजले दिल्लीको गुडगाउँ पठायो । उनका अनुसार त्यो ठाउँमा त झनै नेपालीलाई गाली गर्ने, नराम्रा तुच्छ शब्दहरु बोल्ने रहेछन् । त्यो व्यवहारले निशाको मन उकुसमुकुस पारेको थियो । ‘ती सबै व्यवहारले गर्दा कति बेला आफ्नै देश जाउँ भन्ने मात्रै आउँथ्यो । उनले भनिन्, ‘१८ वर्ष दिल्ली बस्दा हरेक दिन आफ्नो देश नसम्झेको सायद कुनै पल थिएन होला, दिल्लीले मलाई शिक्षा दियो, संघर्ष कसरी गर्ने भन्ने आँट दियो, तर जति जे गरे पनि देशको मायाले मलाई पछाइरह्यो र अन्ततः नेपाल फर्कियौं ।’

नेपाल फर्किएपछि व्यवसाय

नेपाल आएपछि उनी र उनकी आमा सिधै पुर्खौली घर म्याग्दी पुगे । सानै उमेरमा भारत पसेकी उनी बुटवल भन्दा अगाडी कहिल्यै यात्रा गरेकी थिइनन्। त्यति बेलासम्म उनलाई नेपाल भनेको भैरहवा र बुटवल मात्रै लागिरहेको थियो । जब उनी बुटवलबाट अगाडि लागिन आफ्नो देशको मनमोहक दृष्यले उनलाई मोहित बनायो ।

त्यसपछि उनले अठोट गर्दै मनमनै भनिन्, ‘अब म नेपालमै केही गर्छु । १५ दिनको नेपाल बसाईपछि उनी पुनः नयाँ दिल्ली फर्किन । दिल्ली पुगेको केही समयमा उनले आफ्नो बुवा–आमासँग सल्लाह गरिन् । त्यसपछि नेपालमै गएर ड्रेस डिजाईन व्यवसाय सञ्चालन गर्ने उनको योजना बन्यो ।

नेपालमा गएर उद्यम गर्ने भनेपछि उनको मनमा उत्साहसँगसँगै एक प्रकारको डर पैदा भयो । कसरी व्यवसाय चलाउने होला, फेरी शून्यबाट काम सञ्चालन गर्नुपर्छ । त्यही डरले उनलाई केही समय डिप्रेशनको सिकार समेत बनायो । ती सबै कुरालाई पार लगाउँदै उनले २०७९ साल जेठ २ गते बुद्ध पूर्णिमाको अवसर पारेर व्यवसाय सुरु गरिन् ।

६ लाख रुपैयाँको लगानीमा डे«स डिजाईनर्सको व्यवसाय सुरु गरेकी निशाले अर्को व्यवसाय पनि थपेकी छन् । ‘आफ्नो देशमा आएर आफूले सिकेको सीपलाई प्रयोगमा ल्याउन पाउँदा निकै खुसी महसुस भएको छ, ’उनले भनिन्, ‘आफूले डे«स डिजाईन मात्रै गरेकी छैन्, ड्रेस डिजाईनर्स बन्न चाहने दिदीबहिनीलाई आफू जस्तै उद्यमी बनाउन सुरु गरेकी छु । ’

यो पेशा हेर्दा सजिलो लागे पनि काम गर्न भने त्यति सजिलो नभएको उनको भोगाइ छ । अहिलेको परिवेशमा हप्तैपिच्छे फेसन परिवर्तन भइरहने भएकाले यसलाई समेटेर अगाडी बढ्नु डिजाइनर्सहरुको लागि चुनौतीको विषय भएको उनको भनाइ छ ।

ड्रेस डिजाईनरसँगै कुक पनि

निशा ड्रेस डिजाईनर्स मात्र नभएर एउटा कुक पनि हुन् । उनले बुटिक पसलको छेउमा फास्ट फूड पसल पनि चलाउँदै आएकी छन् । निशा भन्छिन्, ‘म सानै हुँदादेखि नै खानाको परिकार बनाउन असाध्यै रमाइलो लाग्ने गर्दथ्यो, त्यसलाई अहिले व्यवसायिक रुपमा अगाडि बढाएकी छु ।’ उनले सुरु गरेका व्यवसायलाई उनका बुवा–आमादेखि श्रीमान् सबैले सहयोग गर्दै आएका छन् ।

परिवारको हौसला र आर्थिक सहयोगमा अहिले निशाज किचन फास्टफूड सञ्चालनमा ल्याएकी हुन् । उनले सञ्चालन गरेको फास्टफूड व्यवसाय पनि बुटिक जस्तै राम्रोसँग चलिरहेको बताइन् । हातमा कला अनि मनभित्रैबाटै आउने आत्मचाहना भए थोरै लगानीमा पनि आफ्नो देशमा केही गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा उनको नाम अगाडि बढेको छ ।

उनले भारतमा १८ वर्ष समय बिताइन् । अर्काको देशमा जति नै सुखमा बसे पनि,  जति नै पैसा कमाए पनि आफ्नै देशको माटो जस्तो आनन्द र खुसी अन्त कहीकतै नहुने उनको भोगाइ र बुझाइ छ ।

नेपालमा सुरु गरिएका व्यवसायबाट उनी पूर्ण रुपमा सन्तुष्ट छन् । बुटिक पसलमा उनले एक जनालाई रोजगारी पनि प्रदान गरेकी छन् । निशा बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म बुटीकमा बस्छिन् र दिउँसो २ बजेपछि फास्ट फूड सञ्चालनका लागि पुग्छिन् ।