२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विद्युतीय सवारीको प्रयोग बढाउन बुटवलमा छलफल

बुधवार , भाद्र १२, २०८१

बुटवल, १२ भदौ । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका, एशियाली विकास बैंक (एडीबी) र स्थानीय व्यवसायीहरुका बीचमा छलफल भएको छ । 

बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिदै जानेमा सहमति जनाएका छन् । 

शहरी क्षेत्रको वातावरणीय प्रदुषण कम गर्न र माग भन्दा बढी हुने विद्युत खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेको बेला बुटवलमा यसको पहल थालिएको हो । 

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीहरुका बीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको छ । 
छलफलले विद्युतीय सवारी सञ्चालनका मोडलहरु, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा एकमत व्यक्त गर्दै थप अध्ययनपछि दोश्रो चरणको छलफल गर्ने निष्कर्ष निकालेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

उनका अनुसार देशमै सबैभन्दा धेरै सवारीसाधन भएकोमध्येको शहर बुटवलबाट यसको सुरुवात गर्ने गरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने उनले बताए । बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पुर्याउने र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी कुराकानी भएको प्रमुख पाण्डेयले बताए । 

छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारीसाधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताए । उनले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको बताए । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उनले वातावरणमैत्री भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताए । 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताए । उनले एडीबी र बुटवल उपमहानगरपालिकाको योजनामा सहभागी हुन इच्छुक रहेको बताए । 

छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराईलगायत सहभागी थिए ।