
शनिवार , भाद्र १५, २०८१
नेपालमा पुस्तकालयको इतिहासबारे अध्ययनको आधारमा यसको इतिहास खासै लामो नभए पृथ्वीनारायण शाहले युद्धबाट काठमाण्डौ उपत्यका विजय गरेपश्चात नुवाकोट दरबार, गोर्खा दरबार लगायत जहाँ–जहाँ विजय हासिल गरे, त्यहाँका हस्तलिखित ग्रन्थहरू हनुमानढोकास्थित दरबारको पूजा कोठामा राखिएको र यसरी पुस्तक तथा विशेष गरी धार्मिक र साँस्कृतिक ग्रन्थहरू संग्रह गरी राखिएको सोही कोठामा राखिएका पाण्डुलिपिहरुको संरक्षणको लागि तत्कालीन राजा गीर्वाणयुद्धको पालमा वि.स १८६९ साल भदौ १५ गतेका दिन ‘पुस्तक चिताइ तहबिल’ पुस्तकको रेखेदेख गर्ने ढुकुटी संग्रहलाई नेपालको पहिलो पुस्तकालय मानिने परम्पराको दिनलाई सम्झदै वि.सं.२०६५ साल भदौ १५ गतेबाट हरेक वर्ष भदौ १५ गते नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।
राणाकालमा राणा शासकहरुले विभिन्न समय क्रममा आफूहरुको अध्ययनको लागि पुस्तकहरु संग्रह गर्दै निश्चित स्थानमा राख्ने जाने १९५७ सालमा घण्टाघरमा सारिएपछि वीर पुस्तकालय नामाकरण गरिएको अभिलेख पाइन्छ । त्यसपछि सुधारवादी राणा शासकको रुपमा पढिएको देव शमशेरले सो पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला भएको पहिलोपटक घोषणा गरेको पढ्न पाइन्छ । यसरी २००७ सालको परिवर्तन भन्दा पहिला सर्वसाधारणलाई पुस्तकालय प्रवेशको लागि रोक लगाइने गरे पनि राणाहरुले आफ्नो निजी प्रयोजनका लागि वीर पुस्तकालय, केशर पुस्तकालय, सिंह पुस्तकालय आदि खोलेका देखिन्छ भने २००७ साल फागुन ७ को राजनीतिक परिवर्तनपछि मात्रै नेपालमा सर्वसाधारण जनताले पुस्तकालय खोल्न र खोलिएका पुस्तकालयमा प्रवेश पाएको पाइन्छ । पछि वि.सं.२०१३ सालमा सरकारी स्वामीत्व भएको नेपालको पुस्तकालय ‘नेपाल राष्ट्रिय पुस्तकालय’ को स्थापना २०१३ सालमा भएता पनि त्यस्को प्रभाव भने खासै उपयोगी नदेखिएको र २०४७ पछिका शासकहरुको ध्यान पुस्तकालयको विकासमा नगएको देखिन्छ । तर, पनि नेपालको संविधान २०७२ को धारा ५१ मा
नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र तथा पुस्तकालय स्थापना गर्ने कुरा उल्लेख भए पनि उक्त विषय संविधानको पानामा मात्र देखिन्छ । व्यवहारमा सत्ता लिप्सामा रहेकाहरुको ध्यान पुस्तकालय स्थापना र विकासमा देखिदैन । तर, पनि सुखद पक्ष भने स्थानीय तथा समुदायस्तरमा चेतनशील नागरिकहरुको पहलमा विभिन्न निजी र सार्वजनिक पुस्तकालयहरूको स्थापना भएको छ, जसले गर्दा पुस्तकालयहरूको सञ्जाल बढ्दो छ ।
यस वर्ष पनि विगतको निरन्तरतालाई पछाउँदै आज भदौ १५ गते ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यो वर्षको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नारा केवल एक सन्देश मात्र नभइ, जीवनभरी सिकाइको महत्व र पुस्तकालयहरूको योगदानलाई सम्मान र यसको महत्वलाई उजागर गरेको छ । पुस्तकालयहरू ज्ञानको स्रोत मात्र नभइ समाजको साँस्कृतिक, शैक्षिक र सामाजिक विकासमा योगदान गर्ने केन्द्रबिन्दुका रूपमा रहँदै आएका छन् । सूचना र प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक मात्र संकलन गर्ने र रहने परम्परागत अवधारणामा परिवर्तन भएको छ । अहिले प्रायः सबै पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको समेत संग्रह रहेको पाइन्छ ।
जसरी विश्वभर ज्ञान सामग्रीहरूको सिर्जना बढ्दै छ, त्यसै गरी पुस्तकालयको महत्व पनि बढ्दै गएको छ । किनकी पुस्तकालय सभ्य, सुसंस्कृत र शिक्षित समाजको अभिन्न अंग होस् ज्ञानको भण्डार होस मानव इतिहास, सभ्यता र संस्कृतिको पहिचान हो । हाल प्रविधिको विकास र विश्वव्यापी विस्तारसँगै पठन संस्कृतिमा आएको कमीले पुस्तकालयको महत्व कम भएको आभास भए पनि यथार्थमा पुस्तकालयको महत्व कहिल्यै कम हुन सक्दैन । सूचना प्रविधिबाट सतही सूचना मात्र थाहा पाइन्छ भने गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय नै अपरिहार्य छ । सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पनि सबै विधाका पठनीय पुस्तक नपाइनु र पठन संस्कृति समेत कम हुँदै जानुका कारण पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन । यसमा सरकार र सरोकारवालाहरुको ध्यान जानु जरुरी छ । पुस्तकालयहरू ज्ञानको खानी हुन्, यी स्थानहरूमा प्राचीन ग्रन्थहरूदेखि आधुनिक विज्ञान र प्रविधिको पुस्तकहरू, अनुसन्धान लेखहरू र विविध विषयका स्रोतहरू संकलित हुन्छन् । कुनै पनि समाजको विकास र प्रगतिको आधारभूत कुरा भनेकै ज्ञान हो र यस ज्ञानलाई सर्वसाधारणसम्म पुर्याउन पुस्तकालयहरूको भूमिका अहम् छद जसले ज्ञानको औपचारिक तथा अनौपचारिक माध्यमबाट सर्वसाधारण र अध्ययताहरुलाई सहयोग दिइरहेको छ । पुस्तकालयहरूले पाठकहरूलाई अध्ययनको स्वतन्त्रता दिन्छन् र तिनीहरूलाई जीवनभरी सिक्ने अवसर प्रदान गर्छन् ।
पुस्तकालयहरूको अर्को महवत्पूर्ण पक्ष भनेको सूचना र ज्ञानको समान पहुँच हो । आजको डिजिटल युगमा, सूचना र ज्ञानको पहुँच निकै महत्वपूर्ण छ यो पहुँच सामाजिक असमानता घटाउन, गरिबी निवारण गर्न र समग्रमा समाजको आर्थिक र सामाजिक स्तर उकास्न मद्दत गर्दछ । विशेष गरी ग्रामीण क्षेत्रमा, जहाँ डिजिटल स्रोतहरूमा पहुँच कम छ, पुस्तकालयहरूले शिक्षाको पहुँचलाई अझ बढावा र विकासका महत्वपूर्ण सिद्ध हुने देखिएकोले ग्रामीण पुस्तकालयको विकासमा स्थानीय सरकारहरुको चासो हुनुपर्दछ । हालैका वर्षहरूमा, पुस्तकालयहरूको डिजिटल रूपान्तरणको प्रक्रिया पनि सुरु भएको छ । यसले ग्रामीण भेगमा बसेका जनताका लागि पनि डिजिटल स्रोतहरूसम्म पहुँचलाई सहज बनाएको छ । तर, अझै पनि देशका धेरै भागहरूमा पुस्तकालयहरूको पहुँच सीमित छ, जसलाई समाधान गर्न राष्ट्रव्यापी पहलहरूको आवश्यकता छ ।
निरन्तर शिक्षाका लागि पुस्तकालय ‘निरन्तर शिक्षा’ भनेको जीवनभरी चलिरहने सिकाइको प्रक्रिया हो, जसले व्यक्तिगत विकास, पेसागत वृद्धि, र सामाजिक उत्थानमा सहयोग पुर्याउँछ । निरन्तर शिक्षाको अवधारणा विशेष गरी आजको द्रुत रूपमा परिवर्तन हुँदै गरेको संसारमा महत्वपूर्ण छ, जहाँ ज्ञान र सीपहरू पुराना हुने क्रम जारी रहन्छ । पुस्तकालयहरू यस निरन्तर शिक्षाको अवधारणाको केन्द्रबिन्दु हुन् भने पुस्तकालयहरूमा उपलब्ध विविध सामग्रीहरूले विभिन्न क्षेत्रहरूमा ज्ञानको पहुँच प्रदान गर्छन् ।
पुस्तकालयहरूले पाठकहरूलाई विभिन्न विषयमा जानकारी दिन्छन्, जसले तिनीहरूको व्यक्तिगत र पेशागत जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । साथै पुस्तकालयहरू अनुसन्धानकर्ताहरूका लागि महत्वपूर्ण स्रोत हुन्छ जहाँ पुराना ग्रन्थहरू, अनुसन्धानपत्रहरू, र अन्य सामग्रीहरूले अनुसन्धानको गुणस्तरलाई सुधार गर्न मद्दत पुर्याउँछन् भने पुस्तकालय केवल ज्ञानको लागि मात्र नभएर सामाजिक एकता लागि उपयोगी सावित देखिन्छ, जहाँ मानिसहरूले एकै ठाउँमा भेला भएर विचार–विमर्श गर्न सक्छन् यसले समाजमा सामाजिक एकता र सद्भावना बढाउन मद्दत गर्दछ । पाठ्यक्रमबाहेकको सिकाइका लागि पुस्तकालयहरूमा पाइने विभिन्न प्रकारका पुस्तकहरू, पत्रपत्रिका र स्रोतहरू विद्यार्थीहरुका लागि महत्वपूण स्रोत हुने देखिन्छ ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारा केवल एउटा विचार मात्र नभइ, एक प्रेरणादायी सन्देश र व्यवहार हो । पुस्तकालयहरू जीवनभरी चलिरहने सिकाइको आधार हुन्, जसले समाजको विकास र समृद्धिमा योगदान पुर्याउँछन् । १७ औं राष्ट्रिय पुस्तकालय दिवसले सरकार सरोकारवालाहरुलाई ग्रामीण भेगसम्म पुस्तकालयको विकास, त्यसको डिजिटलरुपान्तरणको विकासमा लाग्नको लागि सिकाई प्रदान गरोस् भन्ने शुभकामनाका साथ ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराले समाजको विकास र समृद्धिमा योगदान दिन सकोस् ।
यो वर्षको १७ औं राष्ट्रिय पुस्तकालय दिवसले पुस्तकालयहरूको महत्व बुझ्न र विकासको लागि आवश्यक कदम चाल्न सरकार र राजनीतिक दलहरुलाई प्रेरित गरोस् र यो दिवसले पुस्तकालयहरूको महत्वलाई अझ व्यापक बनाउने र समाजको हरेक वर्गलाई ज्ञानको पहुँच दिने अभियानमा प्रेरित गर्नेछ र हामीले पुस्तकालयहरूको विकास र प्रवर्द्धनका साथ साथै आजको युवा पुस्तालाई पुस्तकालयसम्म गइ ज्ञान आर्जन गर्नका प्रेरित गर्ने निरन्तरको ऊर्जा प्रदान गर्न सफल होस् । सबैमा शुभकामना ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij