२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सम्झौता अनुसार सुविधा दिन नसके क्षतिपूर्तिको परिकल्पना गरेका छौं : बस्नेत

बिहिवार , फाल्गुण २०, २०७७

बुटवल, २० फागुन । 
औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले अब खुल्ने औद्योगिक क्षेत्रमा सम्झौता गरेर मात्रै उद्योग सञ्चालन गर्न दिइने बताउँदै सम्झौता अनुसारको सेवा सुविधा दिन नसके सरकारले त्यसको क्षतिपूर्ति व्यहोर्ने बताएका छन् ।

बुटवलको मोतिपूर औद्योगिक क्षेत्र शिलान्यासको पूर्वसन्ध्यामा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाटमा आएका अध्यक्ष बस्नेतले सरकारको तर्फबाट औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले के गर्ने र उद्योगले के गर्ने भन्ने सुरुमै सम्झौता गरिने बताउँदै त्यो सेवा सुविधा दिन नसके त्यसको पनि औद्योगिक क्षेत्र व्यवस्थापनले क्षतिपूर्ति गर्ने र उद्योगले पनि सम्झौता अनुसारको काम नगरे बैंक ग्यारेण्टी (धरौटी) जफत गर्ने बताए ।

उनले सरकारको तर्फबाट औद्योगिक क्षेत्र लिमिटेड र निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग वाणिज्य संघसंग कसले के के काम गर्ने भन्ने विषयमा सम्झौता गर्न चाहेको जानकारी गराए ।

२०६८ सालमा बुटवल उद्योग वाणिज्य संघले अगाडी सारेको परिकल्पना मोतिपूर औद्योगिक क्षेत्रको अवधारणाकै कारण सरकारले सातवटै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको अवधारणा बनाएको बताउँदै उनले औद्योगिक क्षेत्र शिलान्यास भएको २ वर्षमा नै उद्योग राखिने र ५ वर्षमा त्यसको निर्माण पुरा हुने पनि जानकारी दिए ।

त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघले मोतिपूर औद्योगिक क्षेत्रको परिकल्पाना गर्दा त्यस क्षेत्रमा त्यति ठूलो बस्ती नभएको र अहिले बस्ती धेरै बसिसकेकोले केही समस्या देखिएको उल्लेख गरे । ‘हाम्रो चाहना औद्योगिक क्षेत्र बन्नु पर्यो, उद्योग धन्दा सञ्चालन गर्न पाउनु पर्यो भन्ने हो ।’ अध्यक्ष हमालले भने–‘अहिलेसम्म कार्यालय स्थापना भयो भन्ने भन्दा अरु प्रगति देख्न पाइएन ।’ उनले औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले समेत समन्वयसम्म पनि काम नगरेको बताए । उनले अहिले औद्योगिक क्षेत्रको जग्गामा भोगचलनको समस्या देखिएको बताउँदै सरकारको तर्फबाट त्यसलाई सम्बोधन गर्ने हो भने समस्या समाधान हुन सक्ने पनि भनाइ राखे ।

त्यस्तै संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपूर औद्योगिक क्षेत्रको लागि आफूले धेरै मिहिनेत गरेको स्मरण गर्दै सरकारले गर्नुपर्ने काम आफूहरुले गरे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका तर्फबाट सामान्य मुल्यांकन सम्म पनि नगर्दा दुःख लागेको बताए ।

त्यस्तै पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सरकारले ल्याएको सात प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको कन्सेप्ट मोतिपूर औद्योगिक क्षेत्र नै भएको बताउँदै मोतिपूर औद्योगिक क्षेत्रको कन्सेप्ट बुटवल उद्योग वाणिज्य संघको भएको दावी गरे ।