२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मगर साहित्य महोत्सवका लागि पालिका यात्रा, एकसाथ सय पुस्तक विमोचनको तयारी

मंगलवार , भाद्र २५, २०८१

बुटवल, २५ भदौ । 
नेपाल मगर महिला संघ रुपन्देहीले आगामी मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सवको तयारीका लागि पालिका यात्रालाई तीव्रता दिएको छ । रुपन्देहीका सबै पालिकाहरुमा पुगेर महोत्सवबारे जानकारी, सुझाव संकलन तथा यसको महोत्सवबारे जानकारी दिने उद्देश्यले पालिका यात्रालाई अघि बढाइएको संघकी रुपन्देही अध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।  

महोत्सवमा एकसाथ सय पुस्तक विमोचन गर्ने तयारी भइरहेकाले पालिका यात्रा अन्र्तगत कृति लेखनका लागि आह्वान गरिएको छ । पालिका यात्रा अन्तरगत मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित अन्तरक्रियामा सहभागीहरुले महोत्सवलाई भव्य र सभ्य बनाउन वडा तहमै पुगेर तयारी गर्न सुझाव प्रस्तुत गरे । त्यसै गरी विभिन्न देशमा रहेका संगठनहरुसँग समन्वय, विभिन्न राजनीतिक दल सम्बद्ध मगर संगठन तथा जनप्रतिनिधिहरुसँग समन्वय गर्न सुझाव प्रस्तुत गरिएको थियो । 

मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्ने गरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । 

देशभरका मगर साहित्यकार, कलाकार तथा फरकफरक विधाका व्यक्तित्वहरुको सहभागीता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन भइ क्रियाशिल रहेका छन् । महोत्सव सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उपसमिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिए ।

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । त्यसै गरी सान्त्वना हुने दुईजनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए । 

सम्मेलनमा आदिकवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने अभिलेखीकरण उपसमितिका संयोजक जेबी दर्लामी मगरले बताए ।