
शुक्रवार , भाद्र २८, २०८१
भैरहवा, २८ भदौ ।
एनएमबी बैंक लिमिटेड भैरहवा शाखाले रुपन्देही क्रिकेट संघलाई कुलर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बिहीबार संघलाई २ थान कुलर हस्तान्तरण गरिएको बैंकको भैरहवा शाखा प्रबन्धक देवीराम खनालले बताए ।
कार्यक्रममा बोल्दै बैंकको लुम्बिनी प्रदेश एरिया म्यानेजर प्रभात सिंह खातीले रुपन्देही क्रिकेट संघलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गर्दै आएको बताए । उनले भने, ‘अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि क्रिकेट संघलाई सहयोग हुनेछ भन्नेमा विश्वस्त छु । आगामी दिनमा पनि सहयोग जारी रहन्छ ।’
त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेट खेलाडीलाई सुविधा प्रदान गर्न एनएमबी बैंक लिमिटेडले कुलर हस्तान्तरण गरेर सहयोग गर्नु सराहनीय रहेको बताए । उनले भने, ‘क्रिकेट खेलिसकेपछि खेलाडीहरुलाई चिसो होस् भन्नका लागि कोठामा कुलर राख्न बैंकले सहयोग गरेको छ । एनएमबी बैंकप्रतिआभार व्यक्त गर्दछु ।’ अध्यक्ष थापाले संघको नियमित आम्दानी नभएको र यस्तै संघ–संस्थाहरुको सहयोगको आवश्यकता रहेकोमा जोड दिए । उनले बैंकर्स र क्रिकेटरबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
संघका सचिव संजय गुरुङले रुपन्देही क्रिकेट संघ क्रिकेटको विकासमा लागिपरेको बताए । उनले आगामी दिनमा पनि संघले एनएमबी बैंक लिमिटेडसहित बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोगको अपेक्षा गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij