
शुक्रवार , भाद्र २८, २०८१
काठमाडौं, २८ भदौ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागीता लागत घटाउने र प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए ।
उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागीता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिदै नतिजामा आधारित व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए ।
ठूला कर कार्यालयहरुको बक्यौता र बेरुजु बढेको भन्दै उनले बक्यौता असुली र बेरुजु फर्छ्यौटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिए ।
कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न निर्देशन दिए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालु आर्थिक वर्षमा लिइएको राजस्वको संकलनको लक्ष्यलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij