
शुक्रवार , फाल्गुण २१, २०७७
भैरहवा, २१ फागुन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाउन सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् । उनले सरकारले जेठ १५ गते बजेट ल्याउन लागेकोले रचनात्मक सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरे । सरकार निजी क्षेत्रसंग सहकार्य गर्दै जाने उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारलाई मर्का नपर्ने र उद्योगी व्यवसायीका समस्या पनि समाधान हुने गरी काम अगाडी बढाउनुपर्ने बताए । निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न आफु र सरकार तयार रहेको उनको भनाइ छ ।
‘राउण्डटेबुलमा बसेर छलफल गर्छौैं, निजी क्षेत्रको आत्मविश्वास बढाउने र प्रोत्साहित गर्ने सरकारको अभिभारा हो, ‘अर्थमन्त्री पौडेलले भने । पछिल्लो समय कोभिड–१९ ले उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई असर पारेकोले कोभिड प्रभावित उद्योगी व्यवसायीको समस्या समाधानका लागि सहुलियतपूर्ण कर्जा लगायत विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । लकडाउन अवधिको विद्युतको डिमान्ड शुल्कमा छुट प्रदान गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको उनको भनाइ छ ।
बुटवल र भैरहवालाई दुई शहरका रुपमा नबुझ्न अर्थमन्त्री पौडेलले आग्रह गरे । ‘अब सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, ओमसतिया लगायतलाई समेटेर महानगर बनाउँछौं, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर २०५१ सालदेखि आवाज उठाएका छौं, ’उनले भने ।
सिद्धार्थनगरलाई लुम्बिनीसंग जोडन् बुद्धचोकदेखि लुम्बिनीसम्म फराकिलो सडक निर्माण गरिएको अर्थमन्त्री पौडेलले बताए । सिद्धार्थनगरलाई विकासको दृष्टिकोणले पछाडी पर्न नदिइने उनको भनाइ छ । ‘बुटवल र सिद्धार्थनगर एक्लैले विकास गर्न सक्दैन, अब दुईवर्ष भित्र लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुन्छ, ’अर्थमन्त्री पौडेलले भने ।
विकासको पाठशाला रुपन्देही हो भन्ने पहिचान जिल्लाले स्थापित गरिसकेका्े अर्थमन्त्री पौडेलले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव समेत रहेका पौडेलले विकासका सन्दर्भमा एकजुट भएर अगाडी बढनुपर्ने बताए । उनले केपी ओली नेतृत्वको सरकारले महत्वपूर्ण कार्यहरु गरेको दावी गरे । सरकारले विकासलाई दु्रत गतिमा अगाडी बढाएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
‘कोभिडविरुद्धको खोप समयमै ल्यायौं, ’उनले भने । कोभिड–१९ लाई परास्त गर्न सक्छौं भन्ने सन्देश सम्पे्रषण गर्न सरकार सफल भएको अथमन्त्री पौडेलले दावी गरे ।
डा. सिके राउत र नेकपा विप्लव समूहलाई सरकारले वार्ताको माध्यमबाट सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याएको उनले बताए । अब आर्थिक विकासको अभियानमा लाग्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij