
शनिवार , फाल्गुण २२, २०७७
भैरहवा, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले स्थानीयवासीको चाहनाविपरीत गर्न खोजिएको विकास दीर्घकालीन र जनताको हितमा नहुने बताएका छन् । उनले पीडितका मागलाई सम्बोधन गरेर मात्र विकासका कार्यमा अग्रसरता हुन सरकारलाई आग्रह गरेका छन् ।
शनिबार बोहराले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बुटवल उपमहानगरपालिका वडा नम्बर १७, १८ मोतिपुर, शुद्धोधन गाउँपालिका वडा नम्बर ३ र सियारी गाउँपालिका वडा नम्बर ७ मा विगत लामो समयदेखि बिना लालपूर्जामा बसोवास गर्दै आएका किसानहरुलाई लालपूर्जा दिनुपर्ने अवस्थामा, पीडित जनताको सहमतिविपरीत मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’
रुपन्देही जिल्लामा औद्योगिक करिडोर निर्माण गर्ने र समृद्धि जिल्ला बनाउने हामी सबैको चाहना भए पनि मोतीपुर, शुद्धोधन र सियारीका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगबाट जनतालाई धम्काएर गरिएको विकासको कुनै औचित्य नहुने भएकोले सरकारत्यसतर्फ गम्भिर बन्न आवश्यक रहेको बोहराको भनाइ छ ।
‘मोतिपुर, शुद्धोधन र सियारीका जनताको फरक मत हुँदाहुँदै सरकार पक्षबाट सुरक्षाबल प्रयोग गरी जबरजस्ती ढंगले शिलान्यास गर्ने प्रयासबाट उत्पन्न झडपमा परि घाइते हुनुभएका स्थानीयवासी र सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु, विज्ञप्तीमा उल्लेख छ ।
स्थानीयले विरोध गर्दागर्दै पनि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार शिलान्यास गरेका हुन् । औद्योगिक क्षेत्र पीडित स्थानीयलाई वैकल्पिक व्यवस्था नगरी औद्योगिक कोरिडोरको शिलान्यास नगर्न बारम्बार आग्रह गर्दा नमानेकोले बाध्य भएर विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij