
बुधवार , आश्विन २, २०८१
दाङ, २ असोज ।
शिरमा ढाका टोपी । खुट्टामा प्लाष्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० वर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे । दशैं खर्चका माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिए । सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधबार यहाँ आइपुगेका हुन् ।
‘यो काठको कोसी हो । हातैले बनाएको । यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने,‘मुख्यमन्त्रीज्यू, दशैं त आईहाल्यो त । खर्च चाहियो ।’ दशैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगेका छन् । ‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’उनले भन्नुभयो,‘मरे मै मरुला भनेर आएँ ।’
राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । उनीहरुले मासिक ४ हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक वर्ष दशैंको खर्चको लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दशैं मनाउन दिलबहादुरमार्फत सन्देश पठाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij