२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राज्यलाई फाइदा हुने काम लिएर आए सधै सहयोग गर्छौं : भैरहवा भन्सार प्रमुख

शुक्रवार , आश्विन ४, २०८१

भैरहवा, ४ असोज ।

भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहकिा नवआगन्तुक प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले राज्यलाई फाइदा हुने कामका लागि स्थानीयहरुसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।

नेपाल भारत मैत्री संघ, बेलहिया उपशाखा र सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो) लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा आयोजित संविधान दिवस तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख भन्सार अधिकृत रेग्मीले सकारात्मक र देशको हितमा हुने काम गर्न आफू तत्पर रहेको बताएका हुन् । 

राज्यलाई फाइदा तथा हितमा हुने काम गर्न तयार रहेको र राज्यलाई घाटा हुने काममा भने आफु सधै निर्मम हुने उनले बताए । उनले सीमामा आवातजावत सहज भए यसै क्षेत्रको पर्यटन बढ्ने र आफु यसको लागि सधै तत्पर रहेको बताउँदै यसमा स्थानीय सरोकारवालाले साथ दिनुपर्ने जिकिर गरे । ‘अहिले यहाँबाट पर्यटकहरु अन्य नाकाबाट नेपाल गइरहेको खबर आइरहेको छ, यसले स्थानीय मात्र नभई भन्सारलाई पनि असर पार्छ’ उनले भने, ‘यसको सुधारको लागि तपाई र हामी मिलेर सहकार्य गरौ, समस्या कहाँ छ पत्ता लगाएरर समाधान गरौं।’
त्यस्तै सशस्त्र प्रहरी बल डण्डाका नवआगन्तुक सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र कुमार थापा र ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेले

सीमा नाका सहज बनाउन आफूहरु तम्तयार रहेको प्रतिवद्धता जनाए । सीमामा हुने अपराध नियन्त्रण तथा अवैध कारोबारहरुको नियन्त्रणका लागि स्थानीयहरुको साथ र सहकार्य सधै आवश्यक रहेकाले सहकार्य गरेर अगाडी बढ्ने उनीहरुले बताए ।

कार्यक्रममा सोट्टा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले कोभिड भन्दा अगाडी भन्सार कार्यालय बिहान ६ बजे खुल्ने गरेकोले अहिले पनि सोहीअनुसार गराउन आग्रह गरे । कोभिड सकिदा अहिले पनि भन्सार ८ बजेपछि मात्र खुलेको कारण पर्यटकलाई सास्ती भएको बताउँदै उनले यसलाई पूर्ववत अवस्थामा सञ्चालनको माग गरे । 

नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाका अध्यक्ष पशुपति कान्दुको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार राम बहादुर बस्नेत, नर्सिङ्ग गुरुङ्गले बेलहियामा भएको अव्यवस्थताका कारण पर्यटक र स्थानीयलाई सास्ती भएको कारण यसको सहजताको लागि आग्रह गरेका थिए । नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाका सल्लाहकार अर्जुन कुमार गिरीको स्वागत तथा गंगाराम पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।