
शुक्रवार , आश्विन ४, २०८१
बुटवल, ४ असोज ।
रुपन्देहीको बुटवलमा सविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा आयोजित अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयकी मनिषा पराजुली प्रथम भएकी छन् ।
नेपालको संविधान र कार्यान्वयनका समस्याबारे विभिन्न पालिकाहरुबाट छनोट भएर आएका ९ जनाबीच भएको प्रतिष्पर्धामा भैरहवाको पश्चिमाञ्चल इङ्लिस हाई स्कूलकी निर्जरा पोखरेल दोस्रो, देवदहको सगरमाथा माविकी शिक्षा पौडेल तेस्रो र ओमसतियाको सनलाइट बोर्डिङ स्कूलका प्रिन्स कुमार शाहले चौथौ स्थान हासिल गरे । प्रथमले रु. १५ हजार, दोस्रोले रु. १२ हजार, तेस्रोले रु. १० हजार र सान्त्वना हुनेले रु. ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललगायतले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख चपाइँले विद्यालयस्तरबाटै संविधान र देशका कानूनबारे जानकारी गराउने उद्देश्यसहित आयोजना गरेको वक्तृत्वकला उपयोगी रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालयस्तरका बालबालिकामा संविधानबारेको जानकारी खुशीलाग्दो भएको भन्दै विद्यार्थीलाई थप ज्ञान हासिल गर्दै अगाडि बढ्न आग्रह गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले वक्तृत्वकलाले विद्यार्थीमा वाककलाको विकास गर्ने र यसले व्यक्तित्व विकासमा महत्व राख्ने बताइन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यार्थीहरुमा घोक्ने भन्दा बढी सिकाइमा ध्यान दिनुपर्ने बताए ।
प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शालिकराम पौडेल, बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख तुलसा अर्याल र सिद्धार्थ क्याम्पसकी रिता रेग्मी निर्णायक रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij