
शनिवार , आश्विन ५, २०८१
भैरहवा, ५ असोज ।
उद्योगी ध्रुव कुमार श्रेष्ठले आजको समयमा हरेक क्षेत्रमा सफल लिडर मात्र होइन नभइ असल लिडर बन्न आवश्यक भएको बताएका छन् । श्रेष्ठले भने, ‘उद्यमी व्यवसायी उपभोक्ताप्रति इमान्दार हुन जरुरी छ । त्यतिकै नै समाज र राज्यप्रति जिम्मेवार पनि बन्न जरुरी छ । ’
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १३१ औ श्रृंखलाका प्रमुख अतिथि तथा मुख्य वक्ता श्रेष्ठले पुर्वको इलामबाट रुपन्देहीमा सम्भावना र अवसर देखेर रुपन्देहीमा उद्योग सञ्चालन गरेको बताए । पन्चकन्या समूहका संस्थापक श्रेष्ठ असल, मिलनसार तथा सरल स्वभाव भएका उद्यमीको रुपमा चिनिन्छन् ।
एलएसडीटीको १३१ औं श्रृंखला पुगेकोमा खुशी व्यक्त गर्दै उनले यो तालिमलाई सबैले सहयोग गर्नु पर्ने बताए । उनले भने, ‘हरेक उमेरकादेखि हरेक क्षेत्रका मानिसहरुको सहभागीताले एलएसडीटीको कार्यक्रमको महत्व बढेको बुझेको छु । ’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठको विचारबाट सहभागीहरु उत्प्रेरित भएको कार्यक्रमका अध्यक्ष, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का कार्यसमिति सदस्य तथा एलएसडीटीका सदस्य राम प्रसाद श्रेष्ठले बताए । उनले धन्यवाद मन्तव्य व्यक्त गर्दै एलएसडीटिमा जोडिन अनुरोध समेत गरे ।
कार्यक्रम संयोजक, व्यवसायी एवं एलएसडीटीका सदस्य सन्दीप कुमार अग्रहरीको स्वागतमा भएको कार्यक्रममा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धमा आयोजित कार्यक्रमको सञ्चालन पर्यटन व्यवसायी एवं एलएसडीटीका सदस्य संजिव कुमार जोशीले गरेका थिए । प्रारम्भिक सहजीकरण व्यवसायी एवं एलएसडीटीकी सदस्य पुजा आचार्यले गरेकी थिइन् । एलएसडीटी युवा मञ्चकी सदस्य दिचिता शर्माले सामाजिक सञ्जालको फाइदा–बेफाइदाबारे प्रस्तुति गरेकी थिइन् ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसी लगायत क्लबका पदाधिकारीहरुले आगामी मंसिरमा रोटरीको आयोजनामा हुने मिसेज लुम्बिनी प्रदेश–२०२४ (प्रतियोगिता) बारे जानकारी गराउँदै सहभागी हुन् आग्रह गर्नुभएको एलएसडीटी सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।
एलएसडीटी नियमित रुपमा २०७८ सालदेखि हरेक शनिबार सञ्चालन हुँदै आइरहेको व्यवस्थापन समितिका सदस्य नितु थापाले बताइन् । एलएसडीटीको तालिम सदस्यहरुको स्वयं योगदानबाट निःशुल्क रुपमा सांलन हुँदै आइरहेको छ । एलएसडीटीको संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij