
शनिवार , आश्विन ५, २०८१
भैरहवा, ५ असोज ।
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अत्याधुनिक मलिक्युलर बायोलोजी ल्याबमा पाठेघरको मुखको क्यान्सर बनाउने भाइरस ‘ह्युम्यान प्यापिलोमा भाइरस’ पत्ता लगाउने परीक्षण (एचपीभी पीसीआर जाँच) सुरु भएको छ ।
महिलाहरुमा लाग्ने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) पत्ता लगाउन स्क्रीनिङ्ग गरिन्छ । यो क्यान्सर धेरै गराउने कारणमध्ये हयुम्यान प्यापिलोमा भाइरसको संक्रमण एक प्रमुख कारण हो ।
यो भाइरसले संक्रमण भएको शंका लागेमा एचपीभी पीसीआर टेष्ट गरी भाइरस रहेको वा नरहेको पत्ता लगाउन सकिने अस्पतालकी प्रसुती रोग विभागीय प्रमुख प्रा.डा. बेखा लक्ष्मी मानन्धरले बताइन् । उनका अनुसार प्याप्स स्मियर २० वर्षको उमेरपछि हरेक ३–३ वर्षको अन्तरालमा गरिन्छ । यो पाठेघरको मुखबाट सामान्य किसिमले पानी झिकेर गरिने जाँच हो । यो जाँचमा केही शंका लागे वा भाइरसको संक्रमण जस्तो देखाए एचपीभी पीसीसार टेस्ट गरिन्छ ।
एचपीभी पीसीसार टेस्ट ३० वर्षको उमेर उमेर नाघेपछि गर्न भनिएको छ । यो जाँचमा भाइरस देखिए पाठेघरको मुखको क्यान्सर हुने सम्भावना एकदमै उच्च रहन्छ र बेलैमा सावधानी अपनाउन सकिन्छ ।
यो स्क्रीनिङ टेस्टहरुमा केही असामान्य पाइएमा सरभाइकल बायोप्सी (कल्पोस्कोपी गाइडेड वा पञ्च बायोप्सी) गर्नुपर्ने प्रसुती रोग विशेषज्ञ डा. मनोज लम्सालले जानकारी दिए । उनले भने, ‘पाप्स स्मियर एचपीभी पीसीसार टेस्ट सँगसँगै गर्नुलाई को–टेस्ट भनिन्छ । यसरी टेस्ट गर्दा ५–५ वर्षको अन्तरालमा गर्ने भनिएको छ । यी जाँचहरु ७० वर्षको उमेर हुँदासम्म गर्नुपर्छ।’
क्यान्सर विशेषज्ञहरुका अनुसार यी स्क्रीनिङ टेस्टहरु प्रत्येक महिलाले आफ्नो जीवनकालमा केही लक्षण नै नदेखिएता पनि एकपटक गर्नुपर्छ । अब यी सम्पूर्ण टेस्ट जाँचहरु युसीएमएसमा दैनिक रुपमा उपलब्ध गराइएको प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले जानकारी दिइन् । साथै एचपीभी पीसीसार जाँचको यो भेगमै नहुने र काठमाडौंमा पठाइ रिपोर्ट संकलन गर्दा १२–१५ दिनसम्म लाग्ने गरिएकोमा अब भने युसीएमएस शिक्षण अस्पतालमा ३ देखि ४ दिनभित्रै रिपोर्ट उपलब्ध हुने प्रा.डा. पाठकले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij