२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

‘मन बिनाको धन’ ले पायो दर्शकको माया

शनिवार , कार्तिक २२, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • बुटवल, २२ कार्तिक । शुक्रबारदेखि सिनेमाहलमा प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ ले देशभरका हलहरूमा अपेक्षित शो नपाए पनि दर्शकको अपार माया भने बटुलेको छ । यसका निर्देशक टंक बुढाथोकीले एक सडक बालकलाई सुपरस्टार बनाएको कथा बोकेको फिल्मलाई दर्शकले औधी रुचाएका छन् ।  

    रुपन्देहीको बुटवलस्थित समाजसेवी अनुपमान सैंजुको परिवारले आफ्नो परिवारसहित इस्ट मित्र र बुटवलस्थित मिलीजुली सामजिक प्रतिष्ठानको सहयोगमा आश्रमका ज्येष्ठ नागरिक आमाबुवाहरुलाई बुटवलको क्युबक्स आइएनआइमा सो फिल्म देखाउनुभएको हो । 

    फिल्म हेरेपछि श्रीमती रारा सैंजुसहित आउनुभएका अनुपले समाजमा असहाय भएका र नैतिकता अनि सामाजिक कुरीतिले अनाथ भएका बालबालिकाहरुलाई सबैले माया गर्नुपर्ने र अवसरको खाँचो भएकोले अवसर समेत सिर्जना गर्नुपर्ने बताउनुभयो । 

    आफ्ना बुवा सामाजिक व्यक्तित्व गणेश मान सैंजुले स्थापना गरेको असहाय आश्रममा रहेका ज्येष्ठ नागरिकलाई समाजले र आफ्नै घरपरिवारले समेत अवहेलना गर्दा समाजमा त्यस्तो किसिमको दृश्य देखिने भएकाले बुवाआमा र छोराछोरीलाई सहयोग, माया सद्भाव गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै उहाँकी श्रीमती राराले महिलाहरु आत्मनिर्भर नहुँदा घरपरिवार समाजले गर्ने तिरस्कारले गर्दा समाजमा समस्या परेको र त्यसको निराकरण गर्न महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाको सशक्तिकरण्का लागि फिल्म मन बिनाको धनले राम्रो कथा बोलेको बताउनुभयो । 

    समग्रमा चलचित्र राम्रो बनेकोले अभिनय र कथाको तारिफ गर्दै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । ‘मन बिनाको धन’ ले देशव्यापी मात्र ५२ शो पाएको छ । यसले कम शो पाउनुको मुख्य कारण ‘जारी २’ सँगको प्रतिष्पर्धा हो । यो सिक्वेल फिल्म भएकाले हलहरूले ठूलो संख्यामा शो उपलब्ध गराएका छन् । जसले गर्दा ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको छ । यद्यपी ५२ शोमा फिल्मले राम्रो अकुपेन्सी हासिल गरेमा शनिबार स्वतः शो बढ्नेछ । 

    हाल जारी–२ को प्रतिक्रिया दर्शकले खासै सन्तोषजनक नदिएपछि मन बिनाको धनले राम्रो शो पाउने आशा समेत गरिएको छ । बुटवलमा दर्शक बाडिए पनि माउथ अफ पब्लिसिटीले फिल्म राम्रै चल्ने देखिएको छ । गायक अशोक दर्जीको जीवनकथामा आधारित यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको पनि अभिनय रहेको फिल्ममा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो ।