२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बीएचटीएम अध्ययन गर्ने विद्यार्थीलाई ‘सीप सिक्दै कमाउने अवसर’

आइतवार , आश्विन ६, २०८१

भैरहवा, ६ असोज ।

सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीले लुम्बिनी बौद्ध विश्विद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्टिपालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) कोर्स सञ्चालन शुभारम्भ गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच (बीएचटीएम अध्यापनका लागि सहकार्य भएको हो । शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीले यो सहकार्यले बीएचटीएम अध्ययन गर्ने विद्यार्थीहरुले पढ्दै, सीप सिक्दै कमाउने अवसर पाउने जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले यो विद्यार्थीहरुका लागि निकै फाइदाजनक हुनेमा विश्वस्त रहेको बताए । 

‘यस सहकार्यमार्फत विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्वान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउने अवसर प्रदान गर्नेछ’उनले भने, ‘यसप्रकारको डिग्रीबाट अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने हामीले अपेक्षा लिएका छौं । यसले विद्यार्थीहरुलाई खानपान, आवास, उडड्यन, सेमिनार, साहसिक पर्यटन र टूर अपरेशनहरुमा व्यवस्थापकीय साथै उद्यमशीलताका क्षेत्रमा काम गर्न तयार पार्छ ।’

यस पाठ्यक्रमका लागि सम्बन्धित विज्ञहरुसँग कार्यशाला, गोष्ठीहरुको गरेर उहाँहरुको राय सल्लाह सुझाव लिएर कोर्स तयार गरिएको न्यौपानेले बताए । उनका अनुसार विद्यार्थीले पहिलो सेमेस्टरमा प्राथमिक, दोस्रो सेमेस्टरमा आधारभूत, तेस्रोमा एडभान्स, चौथोमा विशेषज्ञता, पाँचौंमा अपरेसन र छैठौं सेमेस्टरमा व्यवस्थापक तालिम लिनेछन् । यसका लागि विद्यार्थीहरुलाई होटलका विभिन्न विभागहरुमा तालिम दिइने उनले जानकारी दिए । विद्यार्थीले कक्षाकोठामा सैद्वान्तिक ज्ञान पाउने र बाँकी अवधिमा अतिरिक्त काम गरी कमाउन सक्ने गरी पाठ्यक्रम तयार गरिएको उनले बताए ।

यो कोर्सको शुल्क रु. ७ लाख निर्धारण गरिएको र जसमध्ये कम्तीमा ६५–७० प्रतिशत रकम विद्यार्थी कोर्स सकाउन पूर्व नै कामबाट कमाउन सकिने न्यौपानेले बताए । ‘यसले गर्दा अभिभावकहरुलाई आर्थिक व्ययभार कम हुनेछ । यसका साथै विद्यार्थीहरुलाई शैक्षिक कर्जा व्यवस्थाको पनि योजना बनाइएको छ । यो सहकार्य अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण गरिनेछ’उनले भने, ‘विद्यार्थीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको छ ।’

यो कोर्स सकेपछि विद्यार्थीले सुपरभाइजरदेखि सहायक म्यानेजरसम्मको पदमा काम गर्न सक्षम हुने न्यौपानेले बताए । कोर्समा स्थानीय तथा बाह्य, मध्यम आर्थिक अवस्था भएका तर, लगनशील विद्यार्थीहरुलाई प्राथमिकता दिइने उनले बताए । ‘विद्यार्थीलाई प्रवेश परीक्षा र अन्तवार्ताबाट छनौट गरिनेछ, एउटा सेसनमा बढीमा ४० विद्यार्थी रहनेछन्,’ उनले भने ।
कक्षा सञ्चालन मंसिरको पहिलो हप्तादेखि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा हुने सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी जनाएको छ । सम्पूर्ण प्रयोगात्मक कक्षा र कार्यगत तालिम होटलमा हुने र होटल प्रांगणको छुट्टै भवनमा सैद्वान्ति कक्षा, पुस्तकालय, स्टुडियो ल्याब र प्रशासनिक क्रियाकलापहरु प्रयोजनमा कार्यालय सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलकराम आचार्यले विद्यार्थीहरुलाई सैद्वान्तिकसँगै प्रयोगात्मक शिक्षामा थप सहयोग पुगोस् भन्ने उद्देश्यले उपयुक्त ल्याब उपलब्ध हुने गरी सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीसँग सहकार्य भएको बताए ।