
आइतवार , आश्विन ६, २०८१
बुटवल, ६ असोज ।
रोटरी क्लब अफ बुटवल चौतारीले पाल्पाको नुवाकोटगढीमा क्लबको २२० औं नियमित बैठक सम्पन्न गरेको छ । क्लबको वर्ष २०२४–२५ को ११ औं बैठक बुटवलबाट केबलकारमार्फत नुवाकोटगढी पुगेर सम्पन्न गरिएको हो ।
ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नुवाकोटगढीमा क्लबको बैठक आयोजना गरिएको क्लबका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।
१ अर्ब रुपैयाँ लगानीमा बनाइएको केबलकार केही दिनअघि मात्रै व्यवसायिक रुपमा सञ्चालनमा ल्याइएको थियो । यसको औपचारिक उद्घाटन भने अझै गरिएको छैन । स्थानीय उद्योगी–व्यवसायीको लगानीमा निर्माण गरिएको केवलकारको व्यवसायिक यात्रामा साथ दिन र पर्यटकीय क्षेत्रको उजागर गर्नका लागि क्लबले नुवाकोटमा बैठक आयोजना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
रोटरी बुटवल चौतारीलाई सिद्धार्थ केबलकारले निःशुल्क रुपमा नुवाकोट लैजाने प्रवन्ध गरेको थियो । पाल्पाको तिनाउँ गाउँपालिकामा पर्ने नुवाकोट गढीमा भएको बैठकमा करिब ५० जना रोटरीयन सहभागी थिए ।
बैठकमा सहभागी भएका सिद्धार्थ केवलकार प्रालिका सञ्चालक केयरसिंह खड्काले नुवाकोट धार्मिक स्थल र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।
बालरोग विशेषज्ञ डा. सुन्दर न्यौपानेले रोटरी क्लब अफ बुटवल चौतारी जस्ता सामाजिक संस्थाले यस्ता ठाउँमा बैठक आयोजना गर्दा यसको प्रचारप्रसारमा समेत योगदान पुग्ने बताए । पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले हालै मात्र सञ्चालनमा आएको सिद्धार्थ केबलकारले रोटरी जस्ता संस्थालाई साथमा लिएर अगाडि बढ्न सके सफलता प्राप्त गर्न सक्ने बताए ।
बैठकमा रोटरी क्लब अफ बुटवल चौतारीका एडमिन चेअर कृष्ण पाण्डे मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको उपसभापतिमा तथा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी जिल्ला सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।
सिद्धार्थ केबलकार प्रा.लि.का अध्यक्ष माधव नेपालले केबलकारको बटम–स्टेसन रहेको पारि बुटवलको देउराली डाँडामा पार्क निर्माणका लागि विभिन्न संरचना बनिरहेका र केही समयमा टप स्टेशनमा समेत संरचना बन्ने जानकारी दिंदै रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई नुवाकोटमा ल्याएर केबलकारको प्रचारप्रसार र यहाँको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेलेको बताए ।
क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले आगामी दिनहरुमा पनि नुवाकोटमा यस्ता कार्यक्रमहरु ल्याउने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij