२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

सोमवार , आश्विन ७, २०८१

भैरहवा, ७ असोज ।
रुपन्देहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले नेपालीहरुको महान पर्व विजया दशमी, नेपाल सम्वत, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पसलको आइतबार एक समारोहकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका छन् । प्रजिअ अर्यालले उपभोक्ता बाबुराम घिमिरेलाई चामल हस्तान्तरण गर्दै पसलको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रजिअ अर्यालले आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर सूपथ मूल्य पसल सञ्चालन गरिएको बताए । उनले भने,‘लक्षित वर्गको पहिचान गरी ती वर्गसम्म पुग्नुपर्छ । यसको उद्देश्य अनुसार लक्षित वर्षसम्म पुगोस् । पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले पाउने नहोस् ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाकी प्रमुख चुनु बुढाथोकीले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताइन् । उनले लक्षित वर्गसम्म यो सेवा पुर्याउने गरी अघि बढ्ने बताइन् । उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हाल कारागारमा मात्र चामल गरेको छ । अन्य कार्यालयहरुमा पनि यहाँको गुणस्तरीय चामल जाने गरी पहल हुनुपर्छ ।’उनले सहकारीमार्फत विभिन्न पालिका तथा आवश्यक स्थानमा सुपथ मूल्य पसल खोल्ने योजना रहेको र यसमा पालिकाहरुले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै कार्यालयका वरिष्ठ सहायक कर्मचारी कमान सिंह रानाले महान चाडपर्वको अवसरमा नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा असोज ७ गतेभित्र नेपालभरीका ४२ जिल्लाका ६१ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यक्रम अनुसार भैरहवामा सञ्चालन गरिएको बताए । उनका अनुसार सुपथ मूल्य पसलमा सावाँ चामल प्रतिकेजी रु. ७०, मोटा चामल प्रतिकेजी रु. ५८, स्टीम जीरा प्रतिकेजी रु. ८५ र सोना मन्सुली प्रतिकेजी रु. ६० मा उपलब्ध हुनेछ । हाल कार्यालयमा ४ हजार क्वीन्टल चामल स्टक रहेको उनले जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य भरत बहादुर के.सी.ले सुपथ मूल्य पसलको सदुपयोग गर्न उपभोक्तालाई आग्रह गरे । 

IMG_9583.JPG
IMG_9618.JPG

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवा सिद्धार्थनगर–८ स्थित लुम्बिनी गेटकै छेउमा छ ।