२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बुधवार , आश्विन ९, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • बेइजिङ, ९ असोज ।
    उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् ।
    चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिवद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताएका हुन् । 

    नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्व रहेको उल्लेख गर्दै उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गरे । 

    यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्ने मात्र नभइ नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिष्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । उनले व्यवस्थित शहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने विचार व्यक्त गरे । 

    अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी दिए । यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यस सम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उनको भनाइ छ । 

    बुधबारदेखि सुरु भएको ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागीता छ ।

    नेपालकोतर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराई लगायतका अधिकारीहरू सहभागी छन् ।