२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मर्चवारीका शिक्षकलाई बहुभाषिक शिक्षा तालिम

बिहिवार , आश्विन १०, २०८१

भैरहवा, १० असोज । 
रुपन्देहीको मर्चवारी गाउँपालिकाका शिक्षकहरुलाई बहुभाषिक शिक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ । कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, शिक्षा तालिम तालिम केन्द्र भैरहवा, रुपन्देही, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीको सहयोग र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

यूरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा असोज ७ गतेदेखि १० गतेसम्म तालिम सञ्चालन भएको कालिका स्वावलम्बन समाजिक केन्द्रका कार्यक्रम संयोजक हरिश्चन्द्र चौधरीले बताए । कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ३० जना शिक्षकहरुलाई तालिम दिइएको उनले जानकारी दिए । तालिममा एउटा विद्यालयबाट २ जना गरी १५ सामूदायिक विद्यालयका शिक्षकहरुलाई सहभागी गराइएको संयोजक चौधरीले बताए । 

लुम्बिनीमा भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै शैक्षिक तालिम केन्द्र भैरहवा रुपन्देहीका प्रमुख दिवाकर भण्डारीले विद्यार्थीहरुलाई सजिलो भाषामा सिकाउनु नै असल शिक्षकको गुण रहेको बताए । यो तालिमपछि मर्चवारी गाउँपालिकाको बालबालिकाहरुको सिकाई पहिलाको तुलनामा बढे मात्र तालिमको उपलब्धि हुने उनले बताए । 

उनले भने, ‘यस तालिममा विभिन्न निकायको बालबालिकाको सिकाईको क्षमता बढाउन उद्देश्य राखेर यो प्रोजेक्टमा लगानी रहेको छ जसलाई शिक्षकले ने सार्थक पार्नेछन भन्ने विश्वास लिइएको छ । शिक्षकहरुबाट सधै सकारात्मक सिकाइको नै अपेक्षा गरिन्छ ।’

तालिमका प्रशिक्षक हरिश्चन्द्र बरईले बालबालिकाको सिकाई क्षमता बढाउने विभिन्न शैलीबारे तालिम दिइएको बताए । बालबालिकाहरुले सुरुमा बोल्ने मातृभाषालाई प्राथमिकता दिएर किताबी भाषाको प्रयोग गरी शिक्षकले पढाउनुपर्ने बताए । उनले भने, ‘सिकाउनु एउटा अभिनय जस्तो हो विद्यार्थीहरुले कसरी बुझ्छन् । हामी त्यसरी नै सिकाउने प्रयास गर्नुपर्छ । तालिममा सिकेका सीप र शैली व्यवहारिक रुपमा प्रयोग गरी बालबालिकाहरुलाई अध्यापन गर्नुहोला ।’ 

तालिमका सहभागी शिक्षक उमाशंकर सहानीले विद्यालयमा पढाउँदा हुने गरेका चुनौतीलाई समाना गर्ने क्षमताको विकास भएको बताए । भर्खरै विद्यालय आएका बालबालिकाहरुलाई मातृभाषा तथा राष्ट्रिय भाषाको प्रयोग गरी बहुभाषाले कसरी सिकाउने भन्ने कुराको तालिम सामग्रीको प्रदर्शनले समेत निकै जानकारीमूलक भएको उनले बताए । 

त्यसै गरी तालिमकी सहभागी शिक्षिका सविता श्रीवास्तवले विद्यार्थीहरुको मनोविज्ञानलाई बुझेर कसरी शिक्षा प्रदान गर्नेबारे सिकेका कुरालाई राम्रो तरिकाले प्रयोग गर्ने बताइन् । बालबालिकाहरुलाई अध्यापन गर्ने शिक्षकहरुलाई तालिम दिएको आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा तालिमका आयोजक संस्थाका तालिम संयोजक हरिश्चन्द्र चौधरी, ब्रिटिस काउन्सिलका आशिस भट्टराई लगायतले भनाइ राखेका थिए । 

Talimmma sahbaghi.jpg