
शुक्रवार , आश्विन ११, २०८१
दाङ, ११ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताए ।
लुम्बिनी प्रदेश सरकारले ४५ औं विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस बर्ष पर्यटन दिवस मनाउन थालिएको हो । ‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’
लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल यहीँ छ, पहाड यहीँ छ र समथर भू–भाग अनि अन्नको भण्डार पनि यहीँ छ । मिनी नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र यहाँको पर्यटन प्रवद्र्धनका आधारस्तम्भ हुन् ।
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी यहाँको प्रमुख पर्यटकीय गन्तव्य स्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ । यहाँको हिमाल, पहाड र तराईलाई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने योजना हो ।’
लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक, साँस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवद्र्धन गर्न सक्ने थुप्रै सम्भावनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए । विश्वभरीका पर्यटक, पर्यटन व्यवसायीहरु, सरोकारवाला तथा आम पर्यटनप्रेमीमा मुख्यमन्त्री आचार्यले शुभकामना व्यक्त गरेका छन् ।
सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापी आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संसारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij