
शुक्रवार , आश्विन ११, २०८१
हामी हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँछौं, जसले विश्वभरी पर्यटनको महत्वलाई उजागर गर्दै पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र समग्र समाजमा पार्ने प्रभावहरूबारे सचेतना फैलाउने अवसरको रुपमा विश्वभरी लिइन्छ । साथै पर्यटकीय महत्वको हिसाबले नेपाल एक पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको कारण पनि हामीलाई यसको थप महत्व हुन जान्छ । यसै क्रममा यस वर्ष २०२४ को विश्व पर्यटन दिवसको नारा ‘पर्यटन, न्याय र शान्ति’ रहेको तय गरिएको छ । यसले विश्वमा देखिएको युद्ध, त्रासलाई कम गर्ने वा पर्यटनको माध्यबाट विश्वभरी शान्तिको अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यस नाराले पर्यटनको माध्यमबाट न्याय र शान्तिलाई प्रवद्र्धन गर्ने लक्ष्यलाई उजागर गरेको छ भने पर्यटनले केवल आर्थिक र साँस्कृतिक विकास मात्र होइन, सामाजिक न्याय, समानता र शान्तिका लागि पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
विश्वभरका विभिन्न देश, संस्कृति र समाजहरूबीचको समझदारी, सहिष्णुता र समन्वयको माध्यमबाट पर्यटनले विश्वमा शान्ति स्थापना गर्न सहयोग पुर्याउँछ । साथै स्थानीय समुदायको सशक्तिकरण र उनीहरूको अधिकारको संरक्षण गरेर न्यायको भावना पनि प्रबल बनाउन सक्छ भन्ने उद्देश्य रहेको यस वर्षको विश्व पर्यटन दिवसको नारा हामी नेपाली र लुम्बिनी प्रदेशका नागरिक, पर्यटन व्यवसायी र सरकारका लागि थप महत्वपूर्ण रहेको छ, किनभने नेपाल र लुम्बिनी विश्व शान्तिका मुहान गौतबुद्धको जन्मस्थल पवित्र लुम्बिनी नेपाल र नेपालीसँग छ । यहीबाट यस वर्षको पर्यटन र शान्तिको नारालाई विश्वभरी पुर्याउने अभियानको सुरुवातमा लाग्न सबै सरोकारवालहरुको ऐक्यवद्धताको आवश्यकता उजागर गरेको छ ।
पर्यटनले स्थानीय समुदायलाई रोजगार सिर्जना, आय वृद्धि र स्थानीय सम्पदाहरूको संरक्षण गरेर आर्थिक उपार्जनको सुनिश्चिततासहित न्याय र शान्ति अनि दिगो पर्यटन विकासको अवधारणालाई प्रवद्र्धन गर्न सक्छ । पर्यटन क्षेत्रले स्थानीय संस्कार–संस्कृतिको सम्मान गर्दै, तिनीहरूको अधिकारको संरक्षण र अपनत्व हुन सके पर्यटन क्षेत्रले स्थानीय समुदायमा एकता कायम राख्न मद्दत गर्दछ, जसले दिगो पर्यटन विकासमा सहयोग पुग्छ । ।
पर्यटन र शान्तिको कुरा गर्दा पर्यटन विकासका माध्यमबाट विश्वभरका मानिसहरूलाई एकआपसमा जोड्ने, यसले विभिन्न समाज, संस्कृति, र धर्महरूको बीचमा समझदारी र सद्भावना बढाउने, मानिसहरुबीचको पूर्वाग्रह र गलत धारणाहरू हटाई विश्वभर शान्ति स्थापना गर्न मद्दत पुर्याउँछ जसबाट पर्यटनले आर्थिक समानता, समृद्धि र सामाजिक सद्भावना प्रवद्र्धन गरेर दिगो पर्यटकीय विकास र शान्तिको लक्ष्यमा पनि महत्वपूर्ण योगदान दिन सक्छ भन्ने उद्देश्य यस वर्षको विश्व पर्यटन दिवसको नाराले जोड दिन खोजेको छ । यसबाट हामी नेपाली र नेपालका पर्यटन व्यवसायीहरुले पनि यही भावनाका साथ अगाडी बढ्न जरुरी देखिन्छ ।
सन्दर्भ : विश्व पर्यटन दिवस–२०२४
लुम्बिनी प्रदेश, नेपालका ७ प्रदेशहरूमध्ये एक, धार्मिक, साँस्कृतिक र प्राकृतिक धरोहरहरूको धनी प्रदेश हो । यस प्रदेशको पर्यटन क्षेत्रमा विशाल सम्भावना रहेको छ । विशेष गरी ‘पर्यटन, न्याय र शान्ति’ जस्ता नाराको सन्दर्भमा लुम्बिनी प्रदेशले नेपालका प्रमुख पर्यटकीय आकर्षणहरू जस्तै विश्व शान्तिका मुहान लुम्बिनी लगायत विभिन्न जिल्लाहरुमा अवस्थित धार्मिक, साँस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छन्, जसले पर्यटकहरूलाई आकर्षित गर्दै आएका छन् ।
लुम्बिनी, भगवान गौतमबुद्धको जन्मस्थल विश्वभरका बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो । यो स्थललाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । लुम्बिनीको महत्व धार्मिक मात्र नभइ साँस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि अतुलनीय रहेको र लुम्बिनीमा शान्ति र सहिष्णुताको प्रतीकको रूपमा विश्वभरका मानिसहरू आउने गर्छन् । यहाँको वातावरणीय संरक्षण, स्थानीय जनताको सशक्तिकरण, र धार्मिक सहिष्णुताको प्रवद्र्धन गरेर लुम्बिनीलाई शान्ति र न्यायको आदर्श स्थल बनाउन सकिन्छ । यसबारेमा थप योजनाबद्ध रुपमा अगाडी बढेर लुम्बिनीलाई केन्द्रबिन्दुमा राख्दै लुम्बिनी प्रदेशका अन्य पर्यटकीय क्षेत्र र स्थानहरुको विकासका लागि भविष्यका योजनाहरु निर्माणमा सरकार र सरोकावालाहरुबीच सहकार्य गर्न जरुरी छ । लुम्बिनी प्रदेशले धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यधिक महत्वपूर्ण स्थलहरूलाई अंगालोमा समेटेको छ । लुम्बिनी प्रदेशमा ‘पर्यटन र शान्ति’ को नारालाई सार्थक बनाउन विभिन्न उपायहरू अपनाउन सकिन्छ, जसले समाजमा शान्ति प्रवद्र्धन गर्ने कार्यमा योगदान पुर्याउन सक्छ ।
लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा स्थानीय समुदायको सशक्तिकरणलाई प्राथमिकता दिनुपर्छ । पर्यटनको माध्यमबाट स्थानीय जनतालाई रोजगार, शिक्षा र स्वास्थ्य सुविधाहरू प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार गर्न सकिन्छ । यसले स्थानीय जनताको सामाजिक न्यायमा योगदान पुर्याउनेछ । लुम्बिनी प्रदेशको साँस्कृतिक धरोहरहरूको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । स्थानीय कला, संगीत र हस्तकलाको संरक्षण गरेर पर्यटकहरूलाई स्थानीय संस्कार–संस्कृतिको अनुभव गराउन सकिन्छ । यसले साँस्कृतिक न्यायको स्थापना गर्न सहयोग पुर्याउँछ भने लुम्बिनी प्रदेशमा धार्मिक सहिष्णुता र सद्भावनालाई प्रवद्र्धन गर्न धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सकिन्छ । यसले विभिन्न धर्म, संस्कृति, र समाजहरूबीचको समझदारी र सद्भावनालाई बढावा दिन्छ ।
साथै लुम्बिनी प्रदेशमा पर्यावरणीय न्यायलाई प्रवद्र्धन गर्न, पर्यावरणीय सन्तुलन कायम राख्नका लागि सरसफाई अभियान, पुनः प्रयोग र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ । पर्यावरणीय न्यायले मात्र दीगो शान्ति स्थापना गर्न मद्दत गर्दछ । यी सबै विषयलाई आत्मसात् गर्दै लुम्बिनीको पर्यटकीय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने अर्को सम्पत्ति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलले लुम्बिनीलाई लुम्बिनी प्रदेशका अन्य पर्यटकीय गन्तव्यहरुलाई विश्वभरका पर्यटकहरूसँग जोड्ने महत्वपूर्ण आधारशिला राख्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जसको निर्माण कार्य पूरा भएको करिब तीन वर्ष पुग्दै गर्दा पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यसको प्रभावकारी सञ्चालनले लुम्बिनी प्रदेशको पर्यटनलाई नयाँ उचाईमा पुर्याउन सक्छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी भ्रमणलाई सजिलो र सुलभ बनाउने मुख्य आधार यो विमानस्थल हो । यसको प्रभावकारी सञ्चालनको अभावले लुम्बिनीमा आउने पर्यटकहरूको संख्यामा प्रतिकूल प्रभाव पारिरहेको छ भने विमानस्थल सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशको आर्थिक र सामाजिक विकासमा समेत बाधा पुगिरहेको छ । यो विमानस्थल सञ्चालनमा आएपछि, लुम्बिनीलाई एक प्रमुख धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ । यसले स्थानीय व्यवसाय, होटल, र अन्य सेवाहरूलाई पनि व्यापक लाभ पुर्याउने निश्चित छ ।
२०२४ को विश्व पर्यटन दिवसको नारा ‘पर्यटन, न्याय र शान्ति’ ले हामीलाई पर्यटन क्षेत्रलाई केवल आर्थिक र साँस्कृतिक विकासमा सीमित नराखी, सामाजिक न्याय, समानता र शान्तिको प्रवद्र्धनको साधन बनाउन प्रेरित गर्छ । लुम्बिनी प्रदेशको धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरूको सही उपयोग गर्दै ‘पर्यटन र शान्ति’ को नारालाई सार्थक बनाउन सकिन्छ । यसले लुम्बिनी प्रदेशलाई पर्यटकीय गन्तव्यको रूपमा मात्र होइन, न्याय र शान्तिको प्रतीकको रूपमा पनि स्थापित गर्न मद्दत पुर्याउँछ ।
यस वर्षको विश्व पर्यटन दिवसमा हामीले पर्यटनलाई न्याय र शान्तिको माध्यम बनाउँदै लुम्बिनी प्रदेशलाई विश्वभरका पर्यटकहरूका लागि एक आदर्श गन्तव्य बनाउनुपर्छ । यसमा सरकारको विशेष ध्यान जानु जरुरी देखिन्छ भने लुम्बिनी प्रदेशका सबै पर्यटन उद्योगी, व्यवसायी र आम नागरिकको समेत सरोकार र आर्थिक उन्नतिसँग जोडिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निन्तरको सञ्चालनको सुनिश्चितता भयो भने यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ ले सार्थकता पाउने थियो भन्ने विश्वासका साथ सबैमा पर्यटन दिवसको शुभकामना ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij