
शुक्रवार , आश्विन ११, २०८१
बुटवल, ११ असोज ।
रुपन्देहीमा क्रियाशिल चारवटा व्यवसाययिक संघ–संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरी निकासी कारोबारले राजस्व संकलन तथा व्यवसायिक कारोबारमा असर गरेको भन्दै त्यसलाई रोक्न भैरहवा भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले बिहीबार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै कडाइकासाथ भन्सार नियमन नगरिदा तथा खुल्ला सीमाबाट भइरहेको अवैध कारोबारले सरकारको राजस्व संकलनमा असर पर्नुका साथै निजी क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सीमा नाकाबाट हुने अवैध कारोबार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सीमा नाकाबाट हुने अवैध कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउँदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजस्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिदै आएको वर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भइरहेको अवैद्य कारोबारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ ।
सरकारले एकातिर भन्सार राजस्वलाई आम्दानीको मुख्य स्रोत मान्दै आएको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरी निकासी कारोबारले राज्यको राजस्व गुम्नुका साथै नेपालको व्यवसाय क्षेत्र धरासायी बन्दै गएको बताउदै राजस्व बलियो बनाउन तथा व्यवसायलाई धरासायी हुनबाट जोगाउन भन्सार तथा खुल्ला सीमा नियमन अतिआवश्यक रहेको सुझाव ती संस्थाहरुले दिएका छन् ।
सो अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली बजार सुनसान बनेको बताउँदै सीमा क्षेत्रबाट हुने अवैध कारोबार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताए । उनले अवैध कारोबार रोक्न र भन्सार नियमन गर्न व्यवसायिक संस्थाहरुले सधै साथ दिने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैं, हिार जस्ता प्रमुख चाडहरुमा नेपाली बजार सुनसान हुने र भारतीय बजार गुल्जार हुने वातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गरे । उनले देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान आग्रह गरे ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अवैध कारोबारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेको बताउँदै सीमा नियमन कडाइ गर्दै अवैध रुपमा हुने सबैप्रकारका कारोबार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।
उद्योग व्यापार संघका अध्यक्ष विष्ण प्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियामा देखिएको ढिलासुस्तीले अवैध कारोबारीले प्रश्रय पाएको आरोप लगाउँदै भन्सारमा कडाइ गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरे ।
ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले सीमाबाट हुने अवैध कारोबारप्रति आफू सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफू गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए । उनले भन्सार तथा सीमा नियमन कडाई नगरिए कर तथा राजस्वको असुलीमा असर पर्ने कुरामा आन्तरिक समीक्षा पनि भएको जानकारी गराउँदै त्यसका लागि राज्यका निकायहरुमा समन्वय र निजी क्षेत्रका व्यवसायिक संस्थाहरुको सहयोग जरुरी रहेकामा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीमा क्षेत्रको सुरक्षा प्रबन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अवैध कारोबारलाई निरुत्साहित गर्ने कुरामा आफू जिम्मेवार बनेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij