२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रकम अभावले अलपत्र लुम्बिनी गुरुयोजना

शनिवार , आश्विन १२, २०८१

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी गुरुयोजना कार्यान्वयनको अवस्था निकै सुस्त रहेको छ । ४७ वर्ष अगाडि सुरु भएको लुम्बिनी गुरुयोजना अहिलेसम्म पनि अधुरै छ । 

सन् १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आएका बेला सुरु भएको लुम्बिनी गुरुयोजनाको काम ४७ वर्ष पुग्दासम्म गुरुयोजना अनुसारको धेरै काम अझै अधुरै छ ।

२०३५ सालमा जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पनासहित लुम्बिनी विकास गुरुयोजना बनाएका थिए ।

लुम्बिनी गुरुयोजना अनुसार १७ वर्षमा निर्माण हुनुपर्ने संरचना ४७ वर्ष हुँदा पनि अझै १२ प्रतिशत काम बाँकी रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।  

पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ३/४ प्रतिशत मात्र बढेको छ । पछिल्ला वर्षहरुमा संघीय सरकारले बजेट नदिंएको भन्दै उनले यही अवस्था रहे लामो समयसम्म पनि गुरुयोजना पुरा गर्न नसकिने बताए। 

सदस्य सचिव शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाको बाँकी काम पुरा गर्नका लागि झण्डै ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । तर, सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न गरेको रकम भुक्तानी गर्न सकेको छैन् । जसका कारण लुम्बिनीमा विगत एक हप्ता यता निर्माण व्यवसायी तथा मजदूरहरु काम गरेको पैसा पाउनुपर्ने भन्दै धर्नामा बसेका छन् ।  

राष्ट्रिय गौरवको योजना सम्पन्न गर्नेतर्फ सरकारको भाषणको रटान शिवाय केही हुन नसकेको सरोकारवालाको भनाइ छ । सरकारले २०७८ सालमै लुम्बिनी गुरुयोजना पुरा गर्नका लागि बजेट तथा आवश्यक श्रोतको सुनिश्चितता गरे पनि आवश्यक बजेट उपलब्ध गराउँदा गुरुयोजना अलपत्र अवस्थामा पुगेको छ ।  

३ वर्ष अघिदेखि नै गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सनबाहेकका काम सकिए पनि धेरै योजनाहरु निर्माणाधीन छन् । १ हजार १५५ बिघा क्षेत्रफल जमिनलाई गुरुयोजनाभित्र पारी टांगेले तीन भागमा विभाजन गरेका थिए ।

गुरुयोजना अन्तरगत दक्षिणतर्फको एक वर्ग माइल जमिनलाई उद्यान क्षेत्र, एक वर्ग माइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र अर्को एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेर गुरुयोजना बनाइएको छ ।

लुम्बिनी गुरुयोजनाको काम पुरा हुन नसक्दा पर्यटक आवागमन बढ्न नसकेको लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले जानकारी दिइन् । सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्ने गरी बजेजको श्रोत सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ । 

‘गुरुयोजना अन्तरगतका काम रफ्तारमा अगाडि बढ्न नसक्दा लुम्बिनीको साख बिस्तारै कमजोर हँुदै गएको छ’उनले भनिन्,‘पर्यटकको आवागमन बिन्दुदेखि नै पर्यटकलाई सास्ती र उल्भन छ, बेलहिया तथा लम्बिनीभित्रका सडकको अवस्था बिजोक छ, धुलोमैलो र अलपत्र अवस्थामा रहेका निर्माण कार्यले पनि पर्यटकलाई झन्झट पुर्‍याएको छ । 

उनले गुरुयोजना पुरा गर्न देखिएका बाधा फुकाउँदै यसलाई जतिसक्दो छिटो पुरा गर्नुपर्नेमा जोड दिइन् ।
सन् १९९५ मा सम्पन्न हुने लक्ष्य राखिएको यो योजना अहिले ४७ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।

लुम्बिनी बिकास कोषको पदाधिकारी नियुक्तिमा हुने चरम राजनीतिकरण, लुम्बिनी बनाउनका लागि दिएको स्थानीयको योगदानको कदर नहुनु लगायतका कारणले पनि लुम्बिनी गुरुयोजना पुरा हुनमा ढिलाइ भइरहेको छ। गुरुयोजना अनुसारको काम पुरा हुन नसकेपछि अहिले संसदीय समितिको पनि चासो बढेको छ । 

राष्ट्रिय सभाको संघीयता तथा राष्ट्रिय समितिले लुम्बिनी विकास कोषको गुरुयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालासँग छलफल पनि गरेको छ । तसर्थ गुरुयोजना पुरा गर्नेतर्फ सरकार तथा सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ ।