
शनिवार , आश्विन १२, २०८१
भैरहवा, १२ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित नेपाल ए.ए.सी. कम्पनी प्रा.लि.ले आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । योसँगै अब नेपाल ए.ए.सी. कम्पनी प्रा.लि.आईएसओ मान्यता प्राप्त उद्योग बनेको छ । यो कम्पनीले नेपाल ए.ए.सी. ब्राण्डमा ए.ए.सी. ब्लक उत्पादन गर्दै आएको छ ।
शुक्रबार भैरहवामा एक कार्यक्रमकाबीच ग्लोबल क्वालिटी काउन्सीलका नेपालस्थित प्रतिनिधि नारायण प्रसाद दवाडीले कम्पनीका अध्यक्ष प्रमोद कुमार यादव तथा सञ्चालक एवं निर्देशक धिरज कुमार मल्लिकलाई आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनीको लोगो हस्तान्तरण गरेका हुन् ।
कम्पनीका अध्यक्ष प्रमोद कुमार यादवले ए.ए.सी. ब्लकले वातावरणलाई प्रदुषणमुक्त बनाउन पनि सहयोग गर्ने बताए । उनले भारतमा पनि ए.ए.सी. ब्लकको ठूलो बजार र माग बढ्दो रहेको बताए । पूर्व सांसद् समेत रहेका यादवले हलुका वजन, ध्वनी प्रतिरोधामक, छिटोछरितो निर्माण कार्य, ओस, अग्नी र भुकम्प प्रतिरोधक, निर्माण सामग्री र समयको बचत, दिगो निर्माण र पुनः प्रयोग, वातावरणमैत्री ए.ए.सी. ब्लकको विशेषता रहेको बताए ।
कम्पनीका सञ्चालक धिरज कुमार मल्लिकले २०८१ साउन १ गतेदेखि ए.ए.सी. ब्लक उत्पादन तथा विक्रीवितरण सुरु गरेको जानकारी दिए । पूर्ण रुपमा स्वचालित जर्मन प्रविधिबाट दैनिक ३०० क्यूबिक मिटर ब्लक तथा प्यानल उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) साजन भट्टराईले निकट भविष्यमा नेपालभरी समग्र निर्माण क्षेत्रमा नेपाल ए.ए.सी. कम्पनी प्रा.लि.ले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कम्पनीका बजार प्रबन्धक दीपक भट्टराईले भने, ‘ए.ए.सी. भनेको जर्मनी प्रविधिबाट नेपालमा उत्पादन गरिएको एउटा हलुका ब्लक हो । यसको उत्पत्ति जर्मनीबाट भएको हो । २०७२ सालको विनाशकारी भुकम्पपछि ए.ए.सी. ब्लकको अवधारणा आएको र यसको माग बढ्दै गएको हो ।’
भट्टराईले यो ब्लकको लम्बाई २ फिट २४ इञ्च, उचाई ८ इञ्च र मोटाइ ४, ६ र ८ इञ्च कम्पनीबाट उत्पादन भइरहेको जानकारी दिए । उनले ए.ए.सी. ब्लकले संरचनालाई भार कम दिने र यसको प्रयोगबाट जोखिम न्यूनीकरण गर्न सकिने बताए ।
ग्लोबल क्वालिटी काउन्सीलका नेपालस्थित प्रतिनिधि नारायण प्रसाद दवाडीले ए.ए.सी. कम्पनी बधाईको पात्र भएको बताए । उनले भने, ‘यो कम्पनीले आफ्नो उत्पादनलाई अझ गुणस्तरीय बनाउने अपेक्षा छ ।’ विश्वमा करिब ३ करोड ७५ लाख र नेपालमा करिब १ हजार ३ सय संस्था आईएसओ मान्यता प्राप्त भइसकेको उनले जानकारी दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले नेपालमा नयाँ प्रविधि भित्रिदा जनमानसमा लैजान त्यति नै चुनौति भएको बताइन् । उनले भनिन्, ‘यो कार्यक्रम गौरवको क्षण हो, कम्पनीले जनमानसमा आफ्नो उत्पादनप्रति विश्वास बढाउँदै जाओस् ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij