
शनिवार , आश्विन १२, २०८१
बुटवल, १२ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले लगानीमैत्री नीति अवलम्बन गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बुटवलमा प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न वातावरण निर्माण गर्ने बताएका हुन्।
‘स्थानीय उत्पादनलाई बढाउन चाहन्छौं । यसका लागि उद्यम र उद्यमीको विकास गर्न प्रदेश सरकार निजी क्षेत्रसँग हातोमालो गर्न तयार छ’उनले भने,‘स्थानीय उत्पादनलाई बजारमा पुर्याउने, त्यसबाट नागरिकको जीवनस्तर उठाउने गरी सरकारले नीति निर्माण गरेको छ । त्यसमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार छ ।’
मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न उद्योगी व्यवसायीको साथ खोजे । उद्योगी व्यवसायीहरुले राखेका मागहरुप्रति सरकार संवेदनशील भएको, उद्योग दर्ता, नविकरण तथा सञ्चालनको क्षेत्रमा एकद्वार प्रणाली लागू गर्ने बारेमा सरकारले पहल लिने उनले जानकारी दिए ।
साना तथा मझौला उद्योग एवं उद्यमहरुको विकास गर्ने, उद्योग सञ्चालन गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्न पनि लगानी लगाउने, उद्योग तथा उद्यममैत्री पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने उनले बताए ।
अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षद्वयमा दधिराम खरेल र भास्कर काफ्ले, सचिवमा केशवराज पन्थी, कोषाध्यक्षमा लक्ष्मी क्षेत्री, सह–सचिवमा पुरुषोत्तम अर्याल, सरोज चौधरी, जीवन कक्षपति र सह–कोषाध्यक्षमा जुद्ध केसी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij