
आइतवार , आश्विन १३, २०८१
भैरहवा, १३ असोज ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा २०८१ को निर्णय प्रमाणित कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विभिन्न समयमा तीनवटै शाखा कार्यालयमा भएको साधारण सभाको एकाई बैठकले चयन गरेकोे ४३ जना प्रतिनिधि सदस्य र प्रतिबैठक १६ जनाको दरले निर्णय प्रमाणित गर्ने प्रतिनिधिको उपस्थितिमा छैठौं वार्षिक साधारण सभाको निर्णय प्रमाणित गरेको हो ।
संस्थाको एकीकरणपछिको छैठौ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिले स्वीकृत विनियम बमोजिम मधवलिया, ठुटीपिपल र भैरहवामा भूगोल क्षेत्रमा आधारित छुट्टाछुट्टै बैठक गरिएको थियो ।
संस्थाको केन्द्रीय कार्यालय ओमसतिया–१ स्थित ठुटीपीपलमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपाल लेखा संयोजक भिम प्रसाद तुलाचनले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले गति लिएको बताए । उनले भने, ‘संस्थाले यसरी नै आफ्नो गतिविधि बढाउनुपर्छ । कर्मयोगीले कहिल्यै हरेस खानुहुँदैन ।’टुगाले तालिम प्रशिक्षण र सार्वजनिक सहकारीको कार्यक्रममा सहभागीता जनाउँदै सदस्यहरुमा उत्प्रेरण जगाउने काम गर्दै आएकोले यसको केन्द्रियस्तरमा छुट्टै पहिचान रहेको उनले बताए ।
संस्थाका अध्यक्ष डि.बी. थापाले संस्था चारवर्षे रणनीति अनुसार राम्रो नतिजातर्फ अग्रसर हुँदै गएको बताए । उनले भने, ‘संस्थाले मासिक रुपमा पारदर्शी तरिकाले संस्थाको अवस्था सबैमा सार्वजनिक गर्दैआएको बताए । अध्यक्ष थापाले संस्थाको असार मसान्तसम्मको कुल रु. ८२ करोड ५७ लाखको वासलातमध्ये रु. ७ करोड ६४ लाख शेयर पूँजी र ६२ करोड १० लाख बचत निक्षेप रहेको जानकारी दिए । उनले लक्ष्यको उत्कृष्ट प्रगति हासिल गरेको बताउँदै संस्थाले करिब रु.१ करोड ६० लाख शुद्ध बचत (मुनाफा) गरेको जानकारी दिए ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु लक्ष्मण कुमार थापा, जित बहादुर रासकोटी, वरिष्ठ सल्लाहकार भिम बहादुर पुन र प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले बाहिरबाट आएको सहकारीमा समस्या देखिएकोले स्थानीयस्तरमा सञ्चालित सहकारीमा सदस्य बन्न आग्रह गरे । उनीहरुले टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र विश्वास जितेको बताए । शेयर सदस्य सचेत भएमा सहकारी दिगो हुने, वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सुझाव दिदै संस्था आर्थिकको साथै सामाजिक काममा पनि अग्रसर हँुदै थप सामाजिक काममा लाग्न उनीहरुले आग्रह गरे ।
कार्यक्रममा शेयर सदस्य निर्मल श्रेष्ठको निधनपश्चात हकवालालाई दुर्घटना बीमावापत रु. ५ लाख हस्तान्तरण गरिएको थियो ।
त्यस्तै कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सरोज क्षेत्री, पीएचडी गरेका डा. दीपक कोइराला, त्यस्तै शेयर सदस्य डा. हरि शर्मा, ऋषिराज गुरुङ, सुनिता पुन र बिमल शर्मालाई सम्मान गरिएको थियो ।
त्यसै गरी उत्कृष्ट कर्मचारीतर्फ कार्यसम्पादन मूल्यांकनमा केन्द्रिय कार्यालयमा कार्यरत फिल्ड सहायक अस्मिता रानालाई सम्मान र माइन्यूट प्रमाणीकरण गरिएको संस्थाका प्रबन्धक लक्ष्मण काउचाले बताए ।
उनका अनुसार सहकारीमा सदस्यहरुका लागि पाँचलाखको दुर्घटना बीमा सुविधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नवदम्पत्ति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको छ ।
संस्थाका उपाध्यक्ष परशुराम बास्तोलाको स्वागत मन्तव्य तथा गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१९ वर्ष अगाडि स्थापित ३ वटा सहकारी ५ वर्षअघि एकीकृत भइ सञ्चालित छन् । ३६५ दिन सेवा दिने सोचका साथ वित्तीय सेवा दिइरहेको यो सहकारी संस्थामा हाल ६ हजार ७ सय ५१ जना शेयर सदस्यहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij