
आइतवार , आश्विन १३, २०८१
दाङ, १३ असोज । लुम्बिनी प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेका छन् । पहिरो, अधिक वर्षा, डुबान लगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । असोज ११ गतेदेखि १३ गतेसम्म एकजनाको मृत्यु भएको छ ।
बाँकेमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने घाइते तीनजना भएका छन् । गुल्मीमा दुई जना र बाँकेमा एकजना घाइते भएको र नवलपरासी बर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरोमा परेर १७ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षति भएको छ । एउटा सरकारी भवन पूर्ण क्षति भएको छ भने ३ वटा भवनमा आंशिक क्षति भएको छ । घरहरुमा क्षति हुँदा ९० लाख ९० हजार क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ । यसका साथै बाढी र पहिरोप्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिकबीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij