२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चारबुँदे माग राख्दै रास्वपा सिद्धार्थनगरले बुझायो ध्यानाकर्षण पत्र

बिहिवार , आश्विन १७, २०८१

भैरहवा, १७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालिका समिति सिद्धार्थनगर नगरपालिका, रुपन्देहीले विभिन्न चारबुँदे माग राख्दै सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । पालिका र पालिकामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको रास्वपा सिद्धार्थनगरका उपसभापति अब्दुल रहमान खाँनले बताए । 

रास्वपाले विपद्मा घाइते तथा पीडित नागरिकको उद्वारमा तीव्रता दिइ यथाशिघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गाँस र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न माग गरेको छ । विपद्मा परेका वेपत्ताको खोजी तथा पीडित परिवारलाई सहयोग गर्न पार्टीले आग्रह गरेको छ ।

अधिकांश ठाउँमा पुलहरु टुटेको हुँदा अस्थायी बेली ब्रिजको यथाशिघ्र व्यवस्था गर्न आग्रह गर्दै राजमार्ग तथा अन्य सहायक मागहरुको अवस्था सुधार्न रास्वपा सिद्धार्थनगरले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘अभाव, अफ्ठयारो अवस्था र चाडबाडको बेलामा चोरीडकैती तथा अपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन ध्यानाकर्षण गर्दछौं, ’ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारीले प्रश्रय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मूल्यसूची स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृृद्धि गरिएको, बिलबिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेण्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अविलम्ब अनुगमनलाई तीव्रता दिन रास्वपाको आग्रह छ । 

‘व्यवसायीहरुलाई आतंकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गनए यथाशिघ्र र प्रभावकारी कदम चाल्न पालिकाको ध्यानाकर्षण गराउँदछौं, ’ध्यानाकर्षण पत्रमा भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअर्लट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यका पूर्वतयारी कमजोरीका कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको घटनाप्रति रास्वपाको गम्भिर ध्यानाकर्षण भएको पार्टीको सिद्धार्थनगर उपसभापति खाँनले बताए ।

बुधबार नगरप्रमुख इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए । सो अवसरमा रास्वपा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति ओम पौडेल, क्षेत्रीय सचिव विष्णु गौतम, सिद्धार्थनगर निवर्तमान सभापति सुमन न्यौपाने, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, ओमराज पन्त, ज्ञानेन्द्र पाण्डे, भरत कार्कीलगायतको उपस्थिति रहेको थियो ।