२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण

शुक्रवार , आश्विन १८, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १८ असोज ।
    विश्व पशु दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक (छाडा) कुकुरहरुको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ । समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । सामुदायिक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन कार्यक्रम सिद्धार्थनगरले विगत ३ वर्षदेखि सञ्चालन गर्दै आएको छ ।

    यो कार्यक्रम यसपटक पहिलो चरणमा यही असोज २३ गतेसम्म सञ्चालन गरिने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख खाँले बताए ।

    ६ दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा टोलटोलमा पुगेर कुकुरहरु ल्याइनेछ । संकलित कुकुरहरुको बन्ध्याकरण रबिज भ्याक्सिन लगाउने काम हिमालयन एनिमल रेस्क्यू ट्रष्ट (हर्ट नेपाल) का पशु चिकित्सक एवं प्राविधिक टोलीले गर्ने सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । 

    उनका अनुसार पहिलो दिन आइतबार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाइएको छ । कार्यक्रम सञ्चालन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको यादवले जानकारी दिए ।

    हार्ट नेपालका अध्यक्ष खगेश्वर भट्टराईले नेपालबाट रेबिज उन्मूलन गर्ने मुख्य उद्देश्यले २०१० मा संस्थाको स्थापना भएको बताए ।