२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

‘स्वदेशी बजार फस्टाउन सकेमात्रै मुलुकमा आर्थिक गतिविधि चलायमान हुन्छ’

शुक्रवार , आश्विन १८, २०८१

  • 613
    Shares
  • 613
    Shares
  • तिलोत्तमा, १८ असोज ।
    तिलोत्तमा व्यापार संघले विजया दशमी, दीपावली, छठ एवं नेपाल संवतको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका नवआगन्तुक प्रमुख कर अधिकृत प्रेमराज पोख्रेललाई स्वागत एवं सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले यहाँको व्यवसाय खुला सीमा नाकाका कारण धरासायी बन्दै गएको बन्दै खुला सीमा नियन्त्रणतर्फ संघीय सरकारले अग्रसरता लिनुपर्ने बताइन् । उनले स्वदेशी बजार फस्टाउन सकेमात्रै मुलुकमा आर्थिक गतिविधि चलायमान हुने भन्दै त्यसका लागि स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यवसायीमैत्री वातावरणको निर्माण गर्ने बताइन् ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले चाडपर्वहरुको आगमनसँगै मुलुक आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाइहरु अन्त्य हुन सकोस् भनी शुभकामना दिए । उनले आगामी दिनमा व्यवसायीहरुको हकहितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले अवैध कारोबारलाई राजस्वले कहिल्यै प्रश्रय नदिने बताए । उनले सही व्यापार व्यवसाय गर्न र कर सम्बन्धी व्यवसायीले भोगेका कठिनाइलाई सम्बोधन गर्दै राजस्व कार्यालयको ढोका सधै खुला रहेको बताए ।

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले विगतमा १ सय रुपैयाँको सामान ल्याउँदा भन्सार शुल्क तिर्ने व्यवस्था लागू भए पनि अहिले भने त्यो कागजमा मात्रै सीमित भएको भन्दै खुला सीमा नियन्त्रण नगर्ने हो भने यहाँको व्यापार व्यवसायमा अझै ठूलो गिरावट आउने बताए ।

    त्यसअवसरमा संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका सचिव गौतम कुमार गुप्ता, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपाली, संघका कानूनी सल्लाहकार नुमेन्द्र पौडेल, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, उपाध्यक्ष मानबहादुर वर्मा लगायतले बोल्दै सस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गरेका थिए ।