
शनिवार , आश्विन १९, २०८१
बुटवल, १९ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई शनिबार बुटवलमा सम्वबेधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।
प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत उनले स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउने गरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्ने गरी काम अघि बढ्ने समेत उनले जानकारी दिए ।
उद्योगी-व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए । ‘प्रदेश सरकारले राम्रोसँग बुझेको छ । जबसम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तबसम्म मुलुकको पनि उन्नति हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्ने भनेकै निजी क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भने,‘सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको निजी क्षेत्रले हो ।’
उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिए ।‘ हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ’उनले भने,‘स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’ व्यवसायीहरुलाई पर्ने कानूनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत उनले बताए ।
‘प्रदेश सरकारले बनाएका कानूनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’मुख्यमन्त्री आचार्यले भने,‘तपाईहरुलाई परेका कानूनी समस्याहरु, ती बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानूनहरुमा समस्या देखा परेका छन् भने समयमा बुँदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’ उद्योगी, व्यवसायीहरुको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij