
आइतवार , आश्विन २०, २०८१
बुटवल, २० असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, धर्मपथथित इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सम्पन्न २६ औं साधारण सभाले सदस्य केन्द्रित उत्पादनमूलक र विक्रीवितरण गर्ने व्यवसायमा लगानी गर्ने प्रस्तावलाई पारित गरेको छ ।
सहकारीले गुणस्तरीय व्यवसायिक सेवामार्फत आफ्ना सदस्यहरुलाई आत्मनिर्भरताका लागि प्रेरित गर्ने उद्देश्यले उत्पादनमुलक र विक्रीवितरण गर्ने व्यवसायमा लगानी गर्ने प्रस्तावलाई पारित गरेको हो ।
शनिबार बुटवल सहकारीको कार्यालय परिसरमा भएको साधारण सभामा सहकारीका अध्यक्ष कृष्ण प्रसाद अर्यालद्वारा पेश गरिएको प्रस्तावलाई शनिबार सम्पन्न साधारण सभाले पारित गरेको हो ।
साधारण सभाले बहुउद्देश्यय कार्यक्रमलाई थप गर्ने, बोनस रकम शेयर खातामा जम्मा गर्ने, संस्थाको मोबाइल बैंकिङलाई थप व्यवस्थित गर्नेलगायतका प्रस्तावलाई पारित गरेको अध्यक्ष अर्यालले बताए । साधारणसभाबाट इभि चार्जिङ स्टेशनलाई थप व्यवस्थित गर्दै अन्य बहुउद्देश्य कार्यक्रमलाई क्रमशः जोड्दै जाने प्रस्तावलाई पनि पारित गरिएको उनले बताए ।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले विवेक पुर्याएर नीतिसंगत सञ्चालन भएका सहकारीहरुमा समस्या उत्पन्न नभएको भन्दै सहकारी सिद्वान्त सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले सहकारीले महिला–पुरुष दुवैको आर्थिक र सामाजिक अवस्थालाई सुधार गर्दै जाने भएकाले सहकारीहरु सीपमुलक र आयआर्जन हुने खालका कार्यक्रममा केन्द्रीत हुनुपर्ने बताए । सहकारीहरुले बचतसँगै सीपमूलक कार्यक्रमलाई पनि जोड्दै जानुपर्ने उनले बताए ।
संस्थाका उपाध्यक्ष माया गौतमको स्वागतमा भएको कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष डोरप्रसाद अर्याल, रुपन्देही बहुउद्देश्यीय सहकारी संघका रोमणी प्रसाद डुम्रे, इन्द्रेणी सहकारीका निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्वअध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, सल्लाहकार डम्बरदेव अर्याल, विश्ववन्धु रेग्मी, लेखा संयोजक लुन्जलाल शाक्य, शेयर सदस्य यज्ञप्रसाद चापागाई, कृष्णमुरारी खनाललगायतले सहकारीहरु सिद्वान्तअनुरुप सञ्चालन हुनुपर्ने उल्लेख गरे ।
संस्थाका सचिव नरबहादुर रजालीको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर रु. १० करोड ५३ लाख २२ हजार ४ सय, कुल बचत रु. ४१ करोड २५ लाख ६० हजार, कुल कर्जा रु. ४७ करोड ८५ लाख र गएको आर्थिक वर्षको नाफा रु.१ करोड २९ लाख २८ हजार रहेको बताए ।
साधारण सभाको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य, माध्यमिक तह शिक्षा परीक्षामा र उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य तथा उनीहरुका छोराछोरीलाई सम्मानसमेत गरिएको व्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij