२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समस्याग्रस्त सहकारीहरुलाई कारवाहीको प्रक्रिया थालिएको छ : मन्त्री अधिकारी

आइतवार , आश्विन २०, २०८१

परासी, २० असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले अधिकारसम्पन्न भूमि आयोग गठन गरी जग्गा समस्या समाधान गर्ने गरी अघि बढेको बताएका छन् । विगतमा बनेका आयोगहरुलाई पर्याप्त अधिकार नहुँदा भूमि समस्या समाधान हुन नसकेकोले यसपटक अधिकारसम्पन्न भूमि आयोग गठन हुने उनले बताए ।

नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीले आइतबार परासीमा गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दशैँ लगत्तै भूमि आयोगको केन्द्रीय समिति र तिहारपछि जिल्ला समितिहरु गठन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘२०५२ सालमा गठित आयोगलाई सम्पूर्ण अधिकार थियो । तर, त्यसपछिका आयोगलाई ऐलानी र ८ नम्बर पर्ति बाडँने मात्र अधिकार छ, भूमिहीन जहाँ बसेका छन् त्यहाँको जग्गाको पूर्जा दिने अधिकार नै छैन्, त्यसका लागि कानून संशोधनको विकल्प छैन्, सरकार त्यसमा लागिरहेको छ’, मन्त्री अधिकारीले भने । 

आयोग गठनका लागि गठन आदेश स्वीकृतिको प्रक्रिया थालिएको बताउँदै भूमि समस्याको दिगो समाधानका लागि भूमि सम्बन्धि कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाइ थियो । 

मन्त्री अधिकारीले समस्याग्रस्त सहकारीहरुलाई कारवाहीको प्रक्रिया थालिएको समेत बताए । देशभर सञ्चालित राम्रा र समस्याग्रस्त सहकारी छनौट गर्न लगाइ २२ वटा समस्याग्रस्त सहकारीलाई कारवाही अगाडि बढाइएको उनले बताउनुभयो । तर सबै सहकारीलाई एउटै डालोमा राखेर बचत पनि गर्न छोड्ने र ऋण लिएकाले तिर्न नखोज्ने प्रवृत्ति भने गलत भएको मन्त्री अधिकारीले बताउनुभयो । 

एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री अधिकारीले संयुक्त सरकार जनतालाई अधिकतम सेवा सुविधा दिने प्रयत्नमा लागिरहेको तर, पनि जनताका अपेक्षा पूरा गर्न एमालेको एकल सरकार नभएसम्म सम्भव नरहेको जिकिर गरे । उनले पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचनमा एमालेको एकल सरकार बन्ने गरी मिसन ८४ को अभियानमा लाग्न निर्देशन दिए ।

एमाले केन्द्रिय सदस्य एवं जिल्ला इञचार्ज सरिता भुसालले एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले नवलपरासीको दक्षिणी क्षेत्रको डुबान समस्या, सीमा क्षेत्रमा बैंकले लगानी नगर्ने समस्या एवं एवं भूमि सम्बन्धि वर्षाैँदेखिका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारलाई प्रभावकारी सञ्चालन र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएको एमाले जिल्ला सचिव धिरज बस्यालले बताए ।