
सोमवार , आश्विन २१, २०८१
भैरहवा, २१ असोज । खाद्य तथा दाना पदार्थ सम्बन्धी नयाँ ऐन, नियम मापदण्डबारे अन्तरक्रिया कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सह–आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा उद्योगी–व्यवसायीले आयातित खाद्य वस्तुहरुमा रंगहरु भेटिने तर, व्यवसायी कारवाहीमा पर्ने, नीतिनियम बनाउदा सम्बन्धित पक्षलाई पनि राखेर बनाउनुपर्ने, व्यवसायीलाई तर्साउने गरी मात्र अनुगमन गर्न नहुने, उद्योगी–व्यवसायी तथा उपभोक्ताहरुलाई समय समयमा सजक बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले भारत तथा युरोप लगायतका देशमा प्रतिबन्धित खाने कलर तथा अन्य विषाधियुक्त सामानहरु नेपालमा विक्री भइरहेको, राज्यको नीतिनियम उद्योगी–व्यवसायीहरुलाई पलायन गराउने नभइ नेपालमै बसेर केही गर्ने खालको बनाउनुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आफूहरुले एकीकृत अनुगमनको माग गरिरहे पनि त्यसको सुनुवाइ नभएको बताए । उनले गलत गर्नेलाई संघले संरक्षण नगर्ने तर, अनावश्यक हैरानी गरे व्यवसायीको हकहितका लागि आवाज उठाउने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘उद्योगी–व्यवसायी तथा उपभोक्ताहरुलाई समयसमयमा सजग बनाउन जरुरी छ । अनुगमन गर्दा एकीकृत रुपमा हुन जरुरी छ, करकोबाहेक अन्य कार्यालयहरुले पटकपटक नगरी एकैपटक सबै मिलेर गर्न जरुरी छ र निजी क्षेत्रलाई समावेश गरेर गर्नुपर्छ ।’
संघका महासचिव कृष्ण प्रसाद घिमिरेले व्यवसायीलाई निजी क्षेत्र बलियो भए राज्य बलियो हुने भन्दै यसका लागि सबै सरकारी निकायले सहयोग गर्नुपर्नेमा जोड दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख अनुप हलवाईले आफूहरुले तर्साएर नभइ सम्झाईबुझाई गरेर कानूनको कार्यान्वयन गर्ने जनाए । अनुगमनमा निजी क्षेत्रलाई समावेश गराउने र सबैको सहकार्यमा आम उपभोक्तालाई स्वस्थ्य र गुणस्तरीय खाद्यपदार्थ उपभोग गर्न पाउने अधिकारीको सुनिश्चितता गर्ने जनाए । खुल्ला क्षेत्रमा हुने व्यवसाय स्थानीय निकायभित्र पर्ने हुनाले स्थानीय निकायले नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा सहन्यायाधीवक्ता वसन्तराज पोख्रलेल, उपभोक्ता हित संरक्षण मञ्च, लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठक लगायतले उपभोक्ताको हितलाई ध्यानमा राखेर खाद्यवस्तुको उत्पादन र विक्री गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij