२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दशैं : आर्शीवाद कि दशा ?

सोमवार , आश्विन २१, २०८१

बडादशैं या भनौ विजया दशमी आएपछि रेडियो, टेलिभिजनहरुमा बज्ने मालाश्री धुन र दशैंसँग सम्बन्धित रमाइला गीतहरु जसले मनै उत्साहित र केही नयाँपन बनाइरहेको हुन्छ । तिनै गीतहरुमा अर्को गीत पनि निरन्तर बजिरहन्छ कि दशैं नै हो कि यो मेरो दशा भन्दै मानिसहरुको मनलाई अमिलो बनाउन खोज्छ । दशैं एक महान उत्सव जसरी उत्साह उमंगका साथ गाउँ, टोल, शहर, बजार जताततै केही न केही नयाँपन ल्याएकै हुन्छ, नयाँ लुगा लगाउने, आफन्तको घरमा जाने, मीठामीठा खानेकुराहरु खाने, पारिवारिक जमघट गर्ने, ठूलाबडाबाट आर्शीवाद ग्रहण गर्ने, चर्खे पिङ्ग, लिंङ्गे पिङ्ग खेल्ने टीका जमरा लगाउने यो पर्वको विशेषता हो । हुन त यो पर्व मात्र होइन, हामीले मनाउने हरेक पर्वको आफ्नै खालको विशेषताहरु छन् र सबैको आ–आफ्नै मौलिकता, धार्मिक मान्यताका साथ समाजका हरेक जातजाति, भाषा, भेषभुषाहरुलाई एकीकृत गरी त्यसको महत्वलाई पुस्तान्तरण गर्दै जाने पर्वहरुको विशेषता हो ।

दशैंमा विशेषतः मातृशक्तिको पूजा (नवरात्री) गर्ने हाम्रो परम्परा छ । दशैं एउटा यस्तो पर्व हो जसले विदेश भएका आफन्त साथीभाइ, इष्टमित्रहरुलाई पनि भेट गराउँछ । गाउँबाट शहर पसेकाहरु, विभिन्न आर्थिक परिस्थितिको कमजोरी वा शिक्षाको लागि विदेशिएकाहरु पनि घर गाउँ आउन यही समय पर्खिरहेका हुन्छन्, कतै कुनै कारणले आफ्ना आफन्तजनहरुसँग भेटघाट हुन सकेन भने मन अमिलो समेत बनाउँछ । धार्मिक, सामाजिक, पारम्परिक शैली र कारण जे होला तर, यो पर्वको विशेषता अरु भन्दा फरक चाहिं पक्कै छ । सरकारले पनि लामो समय बिदा दिने चलन छ, नेपाल राष्ट्र बैंकले पनि यही पर्वको समयमा नयाँनयाँ नोट छपाइ गर्र्ने र सर्वसाधारणलाई साट्न दिने चलन छ । हरेक दुर्गा मन्दिरहरुमा पूजाअर्चना, गाउँ टोलको सरसफाई यी सबै दशैको महत्वपूर्ण विशेषता हो ।

हिन्दू संस्कृति या भनौ सनातन संस्कृत मात्र यस्तो संस्कृति छ जसमा तपाईलाई कुनै कुरामा पनि जबरजस्ती छैन मात्र अरुको नराम्रो नगर, नराम्रो नबोल, हिंसा नगर, व्यभिचारी नबन अरु कुराका लागि धर्मले खासै रोक लगाएको छैन । अर्थात भनौं हामी नेपाली हिन्दूहरुले मनाउने चाडपर्व अझै भनौ खास र महत्व छ, हरेक पर्वले हामीलाई आफन्तसँग नविकरण, आनन्द र एकीकृत बनाउँछ जसले हाम्रो हृदयमा सकारात्मकता र समृद्धिको भावना पैदा गर्दछ । त्यसमा पनि दशंैं, बडादशैं वा भनौ विजया दशमी यो एक महत्वपूर्ण पर्व हो जुन पर्व मनाउन पूर्व नै हरेक परिवारले आफ्ना बितेर गएका पुर्वज पितृहरुको सम्झनामा महालय श्राद्ध गरी उहाँहरुलाई सन्तुष्ट पारी अनि बल्ल दशैंको तयारी गरिन्छ । सुरुको दिनमा देवी स्थापनासँगै हरेक दिन महादेवीको विभिन्न स्वरुपको पुजा गरी दशमीको दिनमा देवीको प्रसाद स्वरुप आफ्ना आफन्त घरका जेठाबाठा र मान्यजनहरुबाट टीका, प्रसाद र जमरा ग्रहण गरी पूर्णिमाको दिनमा दशैंको विधिवत रुपमा बिसर्जन गरिन्छ । हरेक चाडपर्व हरेकका लागि उति नै महत्वका साथ आउँछ र हामीले आफ्नो गच्छता, समय र अवस्था अनुसार त्यसलाई रमाइलो साथ मनाउनुपर्ने हुन्छ ।

चाडबाड भनेको देखाउनको लागि भन्दा पनि त्यसको महत्व झल्काउनका लागि मनाइनुपर्ने हुन्छ । तर, कहीकतै कसैले भड्किलो पाराले समाजलाई देखाउनका लागि नै भनी गर्दछ भने त्यो त एक मुर्खता मात्र हो जस्तो लाग्छ । हो कसैलाई सारा आफन्त बोलाउने, आफन्तसँग रमाइलो गर्ने मीठामीठा परिकार पकाएर आनन्दसँग खानपान गर्ने इच्छा छ, त्यो उसको कुरा भो उसले त्यो गर्न पाउँछ, कसैसँग त्यो खालको क्षमता नहुन सक्छ उसले सामान्य तरिकाले पनि त मन आनन्दित गराउन सक्छ नि, के धर्म, संस्कार र परम्पराले धेरै खर्च गर्दैमा भगवान खुसी हुने थोरै गर्दैमा दुःखी हुने र आशीर्वाद नदिने भन्ने हुन्छ र ? के हाम्रो संस्कारलाई पैसाले रोक्ला ? हाम्रो खुसी हामीसँगै छ, शान्त मनले हामी भगवानको आराधना गरौं जे छ त्यसैमा खुसी हुन सक्यौ भने त्यो नै महत्वपूर्ण हो । अरुको देखासिखी गर्ने प्रयत्न मात्र गर्नेले पनि हाम्रो मन शान्त हुन सक्दैन हामी खुसी हुन सक्दैनौं र हाम्रो धर्म पनि बेकार हुन्छ । चाडबाडको समयमा बज्ने कतिपय गीतहरु, कथा नाटकहरुले हाम्रो समाजको यथार्थलाई देखाउन खोजे पनि त्यसले युवा वा भनौ पछिल्लो पुस्तामा हाम्रो संस्कृति र परम्पराप्रति वितृष्णा पफ लाइरहेको देखिन्छ ।

के गरीबको घरमा देवीको पूजा हुन सक्दैन ? के देवीको वास धनीमानीकोमा मात्र हुन्छ र ? के भगवानले पनि कसैलाई काखा र पाखा गर्नुहुन्छ र ? कदापी यो सत्य हुँदै होइन, भगवान त सर्वव्यापी हुनुहुन्छ । सच्चा मनले देवीको आराधना गरे मन्दिर गएको पुण्य हामीलाई घरमै मिल्छ । हो आज भोलि केही यस्ता पाखण्डहरु भित्रिएका छन् जो पैसाकै आडमा मै हुँ,मबाहेक कोही होइन भन्ने, भगवानको नाममा पैसा उठाउने, धेरै दान दिनेको इज्जत गर्ने थोरै दिनेलाई मतलब नगर्ने, घर ठूलो छ भने उसैकोमा जाने बस्ने सानो छ भने उसलाई छोइएला की जस्तो गर्ने, जसले देखावटी गर्दछ उसैको वाहवाही गर्ने प्रवृत्तिका कारण कसैमा म सानो हुँ कि भन्ने भान पर्न सक्छ । तर, त्यो कदाचित हुन सक्दैन । हामीले मन्दिर बनाउन चन्दा उठाउँदै हिंड्ने र धेरै चन्दा दिनेलाई फूलमाला लगाएर नगर परिक्रमा गराउने संस्कृति देखिएकोले दशैलाई दशा हो कि भन्ने भ्रम परेको छ । तर, एकछिन सोचेर हेर्नुहोस् त मन्दिर बनाउने भन्दा मन–धिर बनाउनेहरु कति शान्त कति सरल हुन्छन् ।

अन्त्यमा, देवीको स्थापना (घटस्थापना) देखि देवी विर्सजन (पूर्णिमा) सम्मको दिन सोच्नुहोस् कति पवित्र हुन्छ, त्यो बेलाको आफन्त भेटघाट अनि जमघटहरु र प्रकृति समेत कति मनोरम हुन्छ त्यसमा हामी किन नरमाउने ? किन दशैंलाई दशा भन्नेको बहिष्कार नगर्ने ? गरीब र धनीलाई फरक मितिमा दशैं बना भन्नेको कुरा किन सुन्ने, यो उत्सव हो यसलाई देखासिखी होइन आफ्नो आर्थिक सामाजिक र पारिवारिक अवस्था जे छ त्यसमै मन शान्त बनाउने र रमाउने पर्व हो । दशैं हामी सबैको उत्साह, उमंग र हर्षको पर्व हो । यसको बारेमा गलत कुरा गर्नेलाई भन्न चाहन्छु तपाईलाई मन्दिर जानु छ जानु, जानु छैन नजानु, तपाईलाई दशैं मनाउन मन छ मनाउनु छैन कर छैन, तपाईसँग पैसा छ देखाउन छ देखाउनु छैन भने अरुको किन रिस ? तपाई आफ्नो जे छ त्यसैमा पनि त दशैं मनाउन वा चाडबाड मनाउने व्यवस्था छ नि किन विरोध गर्नु । कसैले कालो टीका लगाउँदैमा, कसैले सडकमा गएर विरोध गर्दैमा, कसैले हामी गरीबको घरमा दशैं कहिल्यै आएन भन्दैमा, कसैले दशैको विदा गरीब्का लागि नबनाउ भन्दै क्यालेण्डरमा लेख्दैमा वा भन्दैमा कसैले दशै दशा हो भन्दै गीत गाउँदैमा यो समाप्त हुने होइन कहिल्यै हुने पनि छैन । दशै दशैं नै हो । हामी सबैलाई देवी माताको आर्शीवाद, आफन्तको आर्शीवाद र हर्षोल्लासका साथ मनाउन कसैले न छेक्न सक्छ न रोक्न सक्छ, यो हाम्रो चाड हो यो हरेक नेपालीको चाड हो ।यो हरेक हिन्दूको चाडको र यो प्रत्यक्ष देवी माताको आर्शीवादको चाड हो ।