
बुधवार , आश्विन २३, २०८१
भैरहवा, २३ असोज । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीले मंगलबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा कार्यक्रम गरिएको भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई सम्मान गरिएको थियो । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभियानमा देशभरीबाट अब्बल स्थान प्राप्त गरी सिद्धार्थनगर नगरपालिकालाई नेपाल सरकारबाट उत्कृष्ट पुरस्कारद्वारा सम्मानका साथै कोरियामा भएको सम्मेलनमा समग्र नेपालकोतर्फ सम्मान भएको भन्दै संघले मेयर खाँलाई सम्मान गरेको हो ।
त्यस्तै रुपन्देहीको शान्ति, सुरक्षा एवं अमनचयन कायम राखी प्रचलित कानूनको पालना गर्न÷गराउन सफल भएको र समाजमा शान्ति सुरक्षा सुदृढ गरी समुन्नत, शान्ति र सभ्य समाज निर्माणमा योगदान पुर्याएको भन्दै सिडिओ अर्याललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खाँले एकतामा बल हुने बताए । उनले नगरपालिकाको विकासका लागि साथ दिन आग्रह गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालका लागि हुने दबाबमूलक कार्यक्रमको अगुवाइ गर्न तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सानो कुराले धेरै अर्थ राख्ने बताए । उनले सीमावर्ती फरेनिया बजारका बारेमा भारतीय समकक्षीहरुसँग बैठकमा कुरा राखेको बताए ।
भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्सार कार्यालयले वैध व्यापारको सहजीकरण गर्ने बताए । उनले लक्ष्यबमोजिम राजस्व संकलन नहुँदा राज्यले भनेअनुसार खर्च गर्न नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले अवैध रुपमा सामान भित्रिदा नेपाली उद्योगको अवस्था अत्यन्तै नाजुक रहेको बताए ।
ल्याण्ड कस्टम स्टेशन सुनौली, भारतका डेपुटी कमिसनर वैभव कुमार सिंहले महान चाडपर्वको शुभकामना दिदै नेपाल–भारतबीचका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष प्राचीन कुमार थैव, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले बोलेका थिए ।
नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष असिम न्यौपानेको धन्यवाद ज्ञापन तथा संघका महासचिव विष्णु भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij