शनिवार , कार्तिक १, २०८३
भैरहवा, ३१ असोज । चाडपर्वको खुसी वृद्धवृद्धासँग साट्दै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले लायन्स क्लब अफ सिद्धार्थनगरले वृद्धाश्रममा खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको छ ।
क्लबले विजया दशमी, दीपावली, छठपर्व तथा नेपाल सम्वत् ११४७ को अवसरमा शुक्रबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा शुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको हो ।
वृद्धाश्रमको मागअनुसार चामल दुई बोरा, दाल एक बोरा, तेल एक पेटी, आलु एक बोरा, प्याज एक बोरा, धनियाँ, जिरा तथा दुईवटा सिलिङ पंखा प्रदान गरिएको क्लबका वर्ष २०२६/०२७ का अध्यक्ष उमेश थापा लाटोमगरले जानकारी दिनुभयो । उक्त सामग्री क्लबले आश्रमको अध्यक्ष माया खरेललाई हस्तान्तरण गरेको हो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्टका अगुवाहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक एवं क्लबका सह–सचिव गोकुल कँडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्लबका सह–कोषाध्यक्ष आनन्द खनालले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij