
बुधवार , आश्विन २३, २०८१
परासी, २३ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ स्थित मधौलियामा महामारी फैलिन नदिन बुधबार आपतकालीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरबाट उक्त वडाका १०९ जना लाभान्वित भएका छन् ।
सरावल गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, क्यानेडियन रेडक्रस र रामग्राम जेसीजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत हप्ताको बाढीका कारण डुबानबाट प्रभावित भएको उक्त वडामा महामारीको सम्भावना देखिएपछि आपतकालीन शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरीले जानकारी दिए ।
शिविरमा ६२ जना महिला र ४७ जना पुरुष गरी १०९ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा गाउँपालिका अन्र्तगत कार्यरत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए । गाउँ नै डुबानमा पर्दा दुषित पानीका कारण हैजा, झाडापखला तथा डेंगु लगायतका रोग फैलिन थालेको गुनासो आएपछि सम्भावित महामारी रोक्न आपतकालीन स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराई लाभ उठाउन आग्रह गरेका थिए । उक्त अवसरमा स्वास्थ्य परीक्षणसँगै बिरामीहरुलाई औषधी पनि वितरण गरिएको थियो । रेडक्रसले महामारी फैलिन नदिन उपचार मात्र नभइ स्थानीय नागरिकलाई जनचेतना फैलने काम पनि गरेको क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित समुदायस्तरीय वृहत स्वास्थ्य परियोजनाका संयोजक अनुप खड्काले जानकारी दिए । स्वास्थ्य शिविरसँगै सचेतना फैलने कार्य पनि गरिएकोले यहाँका नागरिकमा आनीबानीमा परिवर्तन आइ सम्भावित महामारीलाई न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij