
बिहिवार , आश्विन २४, २०८१
प्रत्येक बर्ष हर्ष उल्लाहसको रुपमा मनाईने दशैँलाई नेपालीहरुको महान चाडको रुपमा हेरिन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन देखि नवमी सम्म शक्तिको आराधना गरि दशौं दिनका दिन आफ्ना मान्यजनवाट टिका प्रसाद ग्रहण गरि विशेष रुपमा पुर्णिमा सम्म दशैंलाइ मनाउने गरिन्छ । दशैं हिन्दु धर्मावलम्बीहरुको महान पर्व भएकोले हिन्दु धर्मावल्म्बीहरुले आश्विन शुक्ल घटस्थापनाका दिन घर घरमा जमरा राखि नवमीसम्म नवरात्री विधिले प्रत्येक दिन फरक फरक देवीको पुजा गर्ने गर्दछन् भने विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको हुनाले हिन्दु धर्मावलम्बीहरुले यस दिनलाई विशेष पर्वको रुपमा हेर्ने गरेकाछन् ।
दुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाई यो पर्वलाई मनाउने गरिन्छ भने हिन्दु किम्वदन्ती अनुसार यस दिन रामले रावणको वध गरेका थिए । यसलाई हिन्दु धर्मावलम्बीहरुले असत्य माथि सत्यको विजयको रुपमा लिने गर्दछन् । यसै कारण दशमीको दिनलाई विजया दशमी भनिएको हो । यस चाडलाई राज्यले पनि राष्ट्रिय चाडको रुपमा हरेको छ । फुलपाती देखि पुर्णिमा सम्म सबै सरकारी निकाय तथा बिद्यालयहरु बन्द गरिन्छ भने गैर सरकारी निकायहरु पनि फुलपाति देखि द्ववादशी सम्मका लागि बिदादिने चलन छ। यस चाडको अवसरमा घर आगन सफा राख्ने,नया कपडाहरु लगाउने,आफनो क्षमता अनुसार खानाहरु खाने तथा खुवाउने र आफना नाता कुटुम्बहरुवाट टिका तथा जमरा लगाई आर्शिवाद लिने गरिन्छ ।
दशैँलाईआ-आफ्नो हैसियतका रुपमा मनाउनु पर्छ भनिएता पनि राज्यमा देखिएको राज्यमा भइरहेको विनासकारी बाढी, पहिरो, आर्थिक मन्दी, बेरोजगारी, कालाबजारीका कारण दशैँ अत्यन्त महँगो पर्वको रुपमा बिकसित हुदै गएको छ l कतिपले दशैलाई महँगो र कष्टकर रुपमा लिने गरेका छन् भने कतिपय बर्गमा रबाफ भडकिलो र प्रतिस्पर्धाको रुपमा बिकसित हुदै गैरहेकोछ l हुने खानेले दशैंलाई देखासिखी र प्रतिष्ठाको रुपमा हेर्ने गरेको र गरिबका लागि कष्टकर बन्दै गएको गएकोछ l यसै शंदर्भमा,काठमान्डौ उपत्यका निबासी (नाम परिबर्तन) राजेश हरिजन हामी बाढी पिडितलाई यस बर्षको दशैं दशाजस्तै भएको छ रे lनवलपरासीबस्ने नितु पाण्डे भन्छिन् ,ठुला व्यापारी देखि साना व्यावसायीहरु समेतले दशैलाई कमाउने धन्दाको रुपमा मौका छोप्ने हुदासर्व साधारणलाई दशैं अत्यन्त महँगो हुदै गईरहेको उनको बिचार छ l
रुपन्देहीका जिल्लाका संजित शर्माको बिचारमा, सिमित बर्गले दशैंलाई समाजमा आफ्नो हैसियत र प्रतिष्ठाको रुपमा मनाउने गरेको हुदा दशैं आफ्नो औकात अनुसार मनाउनु पर्छ भनेपनि दशैले सधै ऋण बोकाएर जान्छ l बर्ष दिनमा एकपटक आउने दशैंलाई राम्रोसंग मनाउने रहर कसलाई हुदैन र ? नवलपरासीका नन्दकिशोर चौधरी भन्नुहुन्छ, छोराछोरीहरु नया लुगा र खसीको माग गर्छन तर आर्थिक मन्दीका कारण ब्याबसाय ठप्प छ l छोराछोरीलाई देशको आर्थिक अवस्था, महंगी र कालाबजारीका कारण उनका रहर पुरा गर्न कति गारो छ भन्ने कुराको बारेमा के थाहा ?
नवलपरासी जिल्ला पश्चिमकि शाईदा निशा पठान भन्नुहुन्छ, एउटा खसी किन्ने कुरा त आकाशको फल जस्तै भयो महँगीका कारण एक किलो मासु किन्न पनि अत्यन्त कठिन छ l खाधान्न, तरकारी र लत्ताकपडाको भाउ बिगतमा भन्दा पनि महँगो छ l
काठमाण्डौमा बस्ने एक गृहणीको (नाम राख्न नचाहेकी) भनाईमा पसलै पिच्छे एकै समानको भाउ फरक फरक छ l सरकारले बजार अनुगमन गरिरहेको छ भनेर संचार माध्यमहरुमा सुन्न पाइन्छ तर यसको नियन्त्रण हुन् सकेको छैन l सामानको फरक भाउको बारेमा ब्यापारीसंग सोद्धा ठाडो जवाफ दिन्छन l कसरि मनाउने दशैं ? आफनो चाडपर्व मनाउने रहर कसलाई हुदैन र ? सरकारको बजार अनुगमन पनि हात्तीको देखाउने दांतजस्तै भएको, कपिलबस्तुका राजमान बराईको बिचार छ l बजार अनुगमन पुर्व सरकारले हामि अनुगमन गर्दैछौ भनेर अनुगमन पुर्व संचार माध्यमबाट सबै ब्यापारीहरुलाई थाहा भै सकेको हुन्छ l अनुगमन गोप्य रुपमा गर्नुपर्छ l अनुगमन पुर्व संचार माध्यमबाट सरकारले अनुगमन गर्दैछ भनेर फुकेर अनुगमन हुन्छ ? यो उनको सरकारलाई प्रश्न हो l
दशैं मनाउन विदेशबाट स्वदेश फर्किएका परिवारहरु घर आऊदा भारतका नाकाहरुमा लुटिएका छन् भने विमान स्थलहरुमा अनावश्यक झ-झण्झट र सास्ती खेप्नु परेको छ । अर्काको देशमा रगत र पसिना वगाएर देशको ढुकुटि भरिरहेका युवाहरु दशैं मनाउन घर आउदा लुटिएकाछन् । मनोरन्जन गर्ने नाममा, धुम्रपान, मद्ध्यपान, जुवा,तासले कर्यौ मानिसहरुको परिवार बिचल्लीमा परेका छन् । दशैंमा मद्यपानको कारण यस समयमा झै झगडा र हिंसामा पनि बृद्दि भएको छापाहरुमा आईरहेकाछन् ।
बिगतमा एक परिवारका घरमुलिले दशैंमा थापेको सबै तलब जुवामा हारेपछि उनका परिवारका छोरा र श्रीमती दशैं मनाउनबाट बञ्चित भएका थिए रे । यसवाट ती महिला र बालकमा कस्तो असर परयो होला ? देखासिखिका कारण ऋण काढेर भएपनि दर्शै मनाउने होडवबाजीले गर्दा कतिको घरवार बिचल्ली भएको छ । दशैँ हिन्दुहरुको महान चाड हो lयो चाडलाई सबै बर्गले उत्तिकै महत्व दिएर आ-आफ्नो तरिकाले मनाउने गरेका छन् l सबै चाडपर्वहरु नेपालको पहिचान र सांस्कृतिक धरोहर हो l चाडपर्व भड्किलो, रबाफ युक्त र खर्चिलो बन्नु हुदैन् l परम्परा र संस्कृतिलाई समय सापेक्ष परिमार्जित गर्दै लैजान पनि त्यती नै आवश्यक छ । परम्परा र संस्कृति धान्ने नाममा, अनावश्यक मानसिक विचलनले परिवार र समाजमा नराम्रो असर पर्छ ।
धर्म, संस्कृति तथा परम्परा जगाउनु पर्छ । यसमा दुईमत छैन् तर परम्परा जोगाउने नाममा कसैको उठिवास भने हुनु हुदैन् । बर्षेनी मनाईने यस्ता चाडपर्वहरुमा राज्यको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त हुनुपर्छ । मानविय संवेदनशिलतालाई कुल्चेर कालाबजारी गर्ने व्यापारीहरुको लाईसेन्स खारेज गर्ने सम्मको हिम्मत राज्यले गर्नुपर्दछ । चाडपर्वको नाममा भईरहेको बिकृतिहरुलाई रोक्न सरकार अत्यन्त कठोर हुन् आबश्यक छ l अहिले देशमा बाढी पिडित, पहिरोको कारण धेरै नेपालीको घरबास उठेको छ l बस्ने बास छैन्, खाने गाँस छैन्, मनमा पिडा छ l उनीहरुको दशैँ मनाउने ब्यबस्था सरकारले गरिदिनुपर्छ l अहिलेको अबस्थामा, हरेक नेपालीले दशैंलाई अत्यन्त सरल, सहज रुपमा मनाउनु पर्दछ l यस तर्फ हरेक नागरिक सचेत हुनुपर्दछ । परम्परा मनाउने नाममा हुनेखानेले रवाफ र प्रतिष्ठाको रुपमा चाडपर्व मनाउदा नहुने बर्गलाई कस्तो असर पर्छ भन्ने सबैले बुझ्नु पर्छ l
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij