
बिहिवार , कार्तिक १, २०८१
उहाँको जीवन यात्रा एक प्रेरणाको स्रोत हो, जुन कुनै एउटा साधारण जीवनको कथा मात्र होइन, निरन्तर प्रगतिशील सोच र साहसिक कदमहरूको सिलसिला हो । उहाँले आफ्नो जीवनको प्रारम्भिक चरणमा जर्मनी गएर आर्थिक सम्भावनाको खोजी गर्नुभयो । उहाँको त्यो साहसले न केवल आर्थिक रूपमा बलियो बनायो । तर, फर्केर आफ्नो समुदाय र शहरको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यतिबेला पालेको लामो कपालको स्टाइल लोकप्रिय बनाउनुभयो, जुन उहाँको विशिष्टता थियो र एउटा पहिचानको रूपमा स्थापित भयो ।
उहाँको अर्को महान योगदान क्रिकेट खेलमा देखियो । शहरमा पहिलोपटक डे–नाइट क्रिकेट प्रतियोगिता आयोजना गरेर उहाँले खेलकुदमा नयाँ संस्कृति बसाल्नुभयो । आफै पनि क्रिकेट खेल्ने उहाँले यस क्षेत्रको क्रिकेटको लोकप्रियता बढाउन ठूलो योगदान दिनुभयो । उहाँ नेपाल क्रिकेट संघको केन्द्रीय सदस्य भएर खेलकुद क्षेत्रमा एक प्रतिष्ठित नाम बन्यो ।
शहरमा पहिलोपटक पिज्जा संस्कृति भित्र्याउनु पनि उहाँको क्रान्तिकारी सोचको नतिजा थियो । त्यतिखेर शहरमा पिज्जा नयाँ थियो, तर गुरुङको यो प्रयासले युवाहरूको मन जित्न सफल भयो ।
डीजेको रूपमा प्रवेश गरेर, उहाँले शहरमा मनोरञ्जन र संगीतको क्षेत्रमा नयाँ अध्याय सुरु गर्नुभयो । आशा गुरुङको पहलले युवा पुस्तालाई नयाँ किसिमको जीवनशैली र पार्टी कल्चरसँग परिचित गरायो, जसले सांगीतिक क्षेत्रमा ठूलो परिवर्तन ल्यायो । उहाँले नै पिज्जाको आगमनको साथ होम डेलिभरी सर्भिसको स्वाद पनि पहिलो पटक शहरलाई दिनुभयो । लिटल लेडी र मिस्टर हेण्डसम जस्तो सौन्दर्य प्रतियोगिताहरु गराएर सौन्दर्य प्रतियोगिताको सुरुवात गर्नुभयो । जेसीज फस्ट युथ आईकन अवार्ड सुरु गराउनुभयो ।
उहाँको अर्को ठुलो योगदान उच्चस्तरीय बंगलाहरूको निर्माणमा देखियो । आधुनिक शैलीका बंगलाहरू, सिनेमा हल, स्विमिङ्ग पुल, र प्लेग्राउन्डसहितको जीवनशैली शहरमा पहिलोपटक स्थापित गरेर, गुरुङले उच्च जीवनस्तरको सपना पूरा गर्नुभयो ।
त्यसपछि, वैज्ञानिक दृष्टिकोणबाट कृषि व्यवसायलाई अघि बढाउनुभयो। आधुनिक कृषि विधिको प्रयोग गरेर उत्पादन बढाउनु र सफल हुनु, यसले शहरका किसानहरूलाई एक नयाँ दृष्टिकोण दियो ।
र, सबैभन्दा महत्वपूर्ण कुरा, उहाँले शहरमा रिसोर्ट होटल सञ्चालन गरेर पर्यटन क्षेत्रको विकासमा क्रान्ति ल्याउनुभयो । आधुनिक सुविधासहितको यो रिसोर्टले शहरलाई पर्यटनको नयाँ केन्द्र बनायो । पर्यटकहरूलाई आकर्षित गर्न मात्र नभएर स्थानीय समुदायलाई पनि नयाँ रोजगारका अवसरहरू प्रदान गर्यो ।
आशा गुरुङ दाइको यी सबै योगदानहरू हामी सबैका लागि प्रेरणादायी छन् । उहाँले धेरै क्षेत्रमा नवीनता ल्याउनुभयो, शहरको विकासमा ठूला–ठूला कदम चाल्नुभयो । हामी सबै उहाँप्रति गर्व गर्छौं र आशा गर्छौं कि वहाँले अझै पनि नयाँ–नयाँ काम गर्दै, हामीलाई प्रेरित गरिरहनुहुनेछ ।
‘हामी आशावादी हौं ।’
‘हामीसँग आशा छ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij