
शनिवार , कार्तिक ३, २०८१
भैरहवा, ३ कार्तिक । भैरहवाको एक तालिम कार्यक्रममा नेपालमा साइकल यात्राको महत्व र यसको बहुपक्षीय विशेषताबारे चर्चा गरिएको छ । शनिबार भैरहवामा आयोजित लिडरसीप स्किल्स डेभलोपमेन्ट ट्रेनिङ (एलएसडीटी) कार्यक्रममा साइकल यात्रा अभियानका एक अगुवा सुर्य कुमार सारु मगरले साइकललाई मानिसको जीवन चक्रसँग जोडेका छन् । उनले भने, ‘साइकल चड्ने मानिसको प्रगति अपरिहार्य छ ।’ जीवनको प्रारम्भमा साइकल सिकिने भएकाले यसको नियमित अभ्यास गर्दा मानिसको स्वास्थ्यमा लाभैलाभ रहेको उनले सुनाए । उनले थपे, ‘मेरो खुट्टाको घुडामा समस्या थियो, डाक्टरले अपरेशन गर्न भन्दै थिए, मैले साइकल चलाए । नियमित अभ्यासले निको भयो, अपरेशन गर्नुपरेन ।’
भैरहवामा पनि साइकल लेन रहेको र यो लेन नेपालको पहिलो नमूना साइकल लेन भएको उनले दावी समेत गरे । श्री रण अम्बिका शाह आँखा अस्पतादेखि पश्चिम ५ सय मिटरको दुवै छेउमा साइकल लेन बनेको र यसलाई थप जोड्नुपर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सारु मगरले निकट भविष्यमा एसिया मुलुकका विश्व साइकल यात्रीलाई एक भव्य कार्यक्रमको आयोजना गरी नेपालको यात्रा गराउने समेत जानकारी दिए । एलएसडीटीको अभियानले सिक्ने सिकाउने संस्कृतिको विकास गरेकोले एलएसडीटी परिवार अझै विस्तार हुनुपर्नेमा उनले जोड दिए ।
१३४ औं श्रृंखलाका अध्यक्ष व्यवसायी दीपक अर्यालले उपस्थितिलाई धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक एलएसडीटी सदस्य विमला बेलबासेले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा आइटी विद्यार्थी एलएसडीटी युथका सदस्य शिशिर पौडेलले ए.आई.बारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको प्रारम्भिक सहजीकरण अनुपम गुप्ताले गरेका थिए ।
तालिम हरेक शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा बिहान ८ बजे हुने गर्दछ । यसको प्रारम्भ ध्यान साधनाबाट हुन्छ । शनिबार (आज) ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी राजयोगिनी आकृतिले ध्यान गराउनुभएको एलएसडीटी व्यवस्थापन समितिका सदस्य मनिष तामाङले बताए ।
यो तालिम निःशुल्क सञ्चालन हदै आएको छ । सदस्यहरुले आफ्नो स्वेच्छिक योगदानबाट तालिम सञ्चालन हुँदै आएको व्यवस्थापन समितिका कृष्ण साह कानुले जानकारी दिए । यसको मुख्य संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij