२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको २० औं साधारण सभा

शनिवार , कार्तिक ३, २०८१

तिलोत्तमा, ३ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकास्थित बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहका अध्यक्ष लिल बहादुर क्षेत्रीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा अध्यक्ष क्षेत्रीले संस्थाको नीति तथा कार्यक्रम र आर्थिक वर्ष ०८०÷८१ को आम्दानी रु. २ करोड २२ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष दुर्गी कुमारी रानाले आ.व. २०८०÷८१ को ५ करोड ५१ लाख २४ हजार ६ रुपैयाँको आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा लेखा समितिको प्रगति प्रतिवेदन संयोजक दीपक गैरेले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले आर्थिक, पर्यटन र सामाजिक समृद्धिका लागि सबैको सहकार्य आवश्यकता भएको बताए । उनले गरिबी निवारण र सामाजिक विकास निर्माणका कार्यहरु गर्दा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न आग्रह गरे । उनले सामुदायिक वनमै यस क्षेत्रकै ठुलो वन भएकोले यसको पूर्ण संरक्षण र दिगो व्यवस्थापनसँगै आवश्यक रहेको बताए । सांसद् घिमिरेले लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुका वनहरुमा वन्यजन्तु संरक्षण गर्दै पर्यटकीय आधारको विकास गर्नुपर्ने बताउँदै आर्थिक सुशासनका लागि सबै प्रतिबद्ध रहन आग्रह समेत गरे ।

सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्यले वनको संरक्षण र यसको प्रबर्द्धन गर्दै स्थानीय समाजको विकासको आधार निर्माण गर्नुपर्ने बताए । कार्यक्रमका तिलोत्तमा वडा नम्बर १४ का वडाअध्यक्ष आश्विन पौडेलले वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले वनको उच्चतम विकासमा हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा सम्पूर्ण सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला रुपन्देहीका अध्यक्ष श्यामकला आचार्य, वन विज्ञ दिपक केसी, सल्लाहकार विष्णु तिवारी, पूर्वअध्यक्ष कृष्ण प्रसाद शर्मा, सहभागी अमर पुन, रुपा भण्डारी लगायतले बोल्दै सामुदायिक वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न, वनको संरक्षण र यसको आर्थिक सामाजिक कार्यमा निगरानी जरुरी रहेको बताए । उनीहरले वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

लक्ष्मण भट्टराईको स्वागतमा सुरु भएको कार्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधिहरु, युवा क्लब, आमा समूह, टोल विकास संस्थाका पदाधिकारीहरु, साविक चिमटिपका सरोकारवालाहरु, उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजीवीहरु, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रम सञ्चालक समूहका महासचिव दिनेश अर्यालले जानकारी दिए ।

बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको १ सय ५४ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको छ । जसमा २ हजार ९ सय उपभोक्ताहरु लाभान्वित छन् भने ३ सय ५४ जना साधारण सदस्यहरु छन् । समूहमा हाल मिश्रित वन, टिक वन, सिमसार क्षेत्र, नन्द भाउजु ताल, पिकनिक स्पोट, गौशाला, सिद्धधाम मन्दिर, देवी पंचायन मन्दिर, बाल उद्यान, २ वटा खेलमैदान र पार्किङ्ग क्षेत्र छन् ।