२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा व्यवसायी लक्षित घुम्ति शिविर सुरु

आइतवार , कार्तिक ४, २०८१

भैरहवा, ४ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी–व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ति शिविर सुुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवं व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नविकरण सम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर सञ्चालनमा ल्याइएको नगरपालिकाका राजस्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए । 

उनका अनुसार आइतबारदेखि सुरु गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सञ्चालन हुनेछ । शिविर सबै वडास्तरमा सञ्चालन गरिनेछ । 

शिविरको आइतबार वडा नम्बर ७ मा सुुरुवात गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले दर्ता, इजाजत नलिइ सञ्चालन भइरहेका वा लामो समयदेखि नविकरण नगरेका व्यवसायीलाई घुम्ती शिविरमार्फत लाभ लिन आग्रह गरे । उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर वक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्तसम्मको लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे । 

शिविर कार्तिक ४ देखि ६ गतेसम्म वडा नम्बर ७, ७ देखि ९ सम्म वडा नम्बर ९, ११ देखि १२ सम्म वडा नम्बर २ र २७ देखि २९ सम्म वडा नम्बर ८ मा सञ्चालन हुुनेछ । त्यस्तै मंसिर २ गतेदेखि ४ सम्म वडा नम्बर ६, ५ देखि ७ सम्म वडा नम्बर १२, ९ देखि ११ सम्म वडा नम्बर ५ र १३ तथा मंसिर १२ मा वडा नम्बर ११ मा सञ्चालन हुनेछ ।

त्यस्तै मंसिर १३ मा वडा नम्बर १०, १४ र १६ मा वडा नम्बर ४, १७, १९ र २० मा वडा नम्बर ३ मा सञ्चालन हुनेछ । त्यसै गरी मंसिर २१, २३ र २४ मा वडा नम्बर १ मा शिविर सञ्चालन हुनेछ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६ औं नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०८१/०८२ लाई कर सहभागीता वर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सञ्चालन गरिएको बताए ।