
बुधवार , कार्तिक ७, २०८१
बर्दिया, ७ कार्तिक । बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । ‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिना : राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारासहित सुरु भएको सम्मेलनले स्थानीय रोजगार रणनीति निर्माण गर्नेछ ।
मुख्यमन्त्री आचार्यले युवाहरुलाई उद्यमशीलतामा जोड्ने गरी प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँग समन्वय गर्ने बताए । ‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ । स्वदेशमै उद्यमशीलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उनले भने,‘सीप सिकाउने र उद्यमशीलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं । म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको बीचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’
युवाहरुलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह गरे । ‘यो मुलुकको भोली उद्योगपति बन्न सक्नुहुन्छ, त्यो हैसियतको ल्याकत राख्नुहुन्छ । त्यस मानेमा अग्रसर भएर लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु’उनले भने,‘तपाईहरुको साथमा प्रदेश सरकार छ । संघीय सरकार छ र स्थानीय सरकार छ । स्थानीय सरकारले विभिन्न रचनात्मक कामहरु अगाडी बढाउँदै आएको छ ।’
नगरप्रमुख खड्कबहादुर खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनमा बाँसगढी नगरपालिकाभित्रका पाँच सय युवाहरुको सहभागीता रहेको छ । विभिन्न विषयमा छलफल गर्दै र योजना निर्माण गरेर सम्मेलन समापन हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij